Logo
Logo

३ पदका लागि ताप्लेजुङमा २८ को उम्मेदवारी


117
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङमा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री र नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार प्रतिनिधिसभामा सञ्जुहाङ पालुङ्वा र हरिप्रसाद बरालको स्वतन्त्र उम्मेदवारी परेको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमप्रसाद तुम्बाहाम्फेको उम्मेदवारी परेको छ ।

विभिन्न निर्वाचन क्षेत्रमा एमालेसँग चुनावी एकता गरेको जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आ–आफ्नो उम्मेदवारी दिएका छन् । राप्रपाबाट रामबहादुर कार्की र जसपाबाट चन्द्र मादेनले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मंगोल नेशनल अर्गनाइजेशनबाट विक्रम फेम्बु लिम्बू, लोकतान्त्रिक समाजवादी पार्टीबाट चैतन्यप्रकाश केदेम, जनता समाजवादी पार्टीबाट कृष्णबहादुुर लिम्बूको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै प्रदेशसभा (क)मा १० जनाको उम्मेदवारी परेको छ ।

कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले कांग्रेसबाट उम्मेदवारी दर्ता गराउँदा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जिल्ला इञ्चार्ज खेमबहादुर वनेमले पनि उम्मेदवारी दिएका छन् । एमाले पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्वोले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा (ख) मा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका खगेनसिंह हांगामाको उम्मेदवारी परेको छ । एमालेबाट प्रदेश सदस्य गोपाल थोप्राले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्