नदी र सडकविनाको पुल ! « Drishti News – Nepalese News Portal
Logo

नदी र सडकविनाको पुल !


- दृष्टि न्युज/संवाददाता


बाँके, २ भदौं । नदी छैन, सडक पनि छैन । नदी र सडक नभएको ठाउँमा पक्की पुल भने बनिसकेको छ । पुलमा न गाडी गुड्छन्, न त मानिसको आवतजावत नै । हुलाकी सडक आयोजनाको अभिलेखमा राप्ती नदीमाथि पुल रहेको उल्लेख छ ।
आयोजनाको अभिलेखमा उल्लेख भएजस्तै पुल न राप्ती नदीमाथि छ, न त यो पुल सडकमा नै बनेको छ । रु चार करोड १२ लाख ९० हजार २२५ को लागतमा बनेको पुल प्रयोगविहीन बनेको छ । हचुवाका भरमा पुल निर्माण गर्दा प्रयोगमा आउन नसकेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकराम थारुले बताए ।
उनले भने, ‘त्यहाँ पूरै बालुवा छ । राप्ती नदीको बगर क्षेत्र पूरै बालुवायुक्त छ । त्यहाँ वारपार नै पुल बनाउन पहिले नै अध्ययन थालिनुपथ्र्यो । हचुवाका भरमा काम शुरु गर्दा सडकविनाको पुल मात्र बन्न पुगेको छ । सडक कार्यालयको सुझबुझ विनाहतारको निर्णयले फुर्सदमा समस्या देखिएको हो ।’

वडाध्यक्ष थारुका अनुसार राप्ती नदीमा सञ्चालनमा रहेको अर्को पुलसँगै जोडेर एक किलोमिटर लामो पुल निर्माण भए मात्रै समस्या समाधान हुन्छ, त्योबाहेक अरु विकल्प छैन । नेपालगञ्ज–नरैनापुर हुलाकी सडक खण्डको राप्ती नदी किनार नजिकै बनाइएको ५० मिटर लामो पुल प्रयोगमा नआउँदा सवारी साधन कच्ची बाटो हुँदै आवतजावत गर्दै आएका छन् ।
हुलाकी सडक आयोजना नेपालगञ्जका अनुसार सो स्थानमा करीब एक किलोमिटर लामो पुल निर्माण गर्नुपर्ने अवस्था देखिएपछि सडक निर्माण कार्य रोकिएको हो । पूरै बगर क्षेत्रमा पुल निर्माण गर्नुपर्ने भएपछि सडक निर्माणको काम रोकिएको हुलाकी सडक आयोजना नेपालगञ्ज कार्यालयका इञ्जिनीयर रामसागर हरिजनले बताए ।
विसं २०७१ असार २५ मा ठेक्का सम्झौता भएर निर्माण शुरु भई २०७६ जेठ ३० मा सम्पन्न गरिसक्नुपर्ने पुलको निर्माण कार्य प्रगति ७३ प्रतिशत रहेको आयोजनाले जनाएको छ । उनले भने, ‘पहिले बीचमा पुल बनाएर प्रयोग गर्न सकिन्छ कि भन्ने थियो । त्यो सम्भव नभएपछि सडक निर्माण रोकिएको हो ।’
अहिले सडक बनाउँदा लगानी खेर जाने भएपछि निर्माण रोकिएको बताउँदै उनले थप एक किलोमिटर क्षेत्रमा पुल निर्माणका लागि अध्ययन भएर डिजाइनको काम भइरहेको जानकारी दिए । बर्खायाममा राप्ती नदीमा बाढी आउँदा आवतजावतमा समस्या हुँदै आएको फत्तेपुरका स्थानीय रामकुमार चौधरीले बताए । ‘मोटरसाइकल, साइकल र पैदलयात्रुलाई समस्या हुने गरेको छ । बर्खामा राप्ती नदीमा बाढी आएपछि आवतजावत नै ठप्प हुन्छ’, उनले भने । पुल प्रयोगमा नआउँदा वैकल्पिक सडकबाटै सवारी साधन आवतजावत गर्दै आएका छन् । वर्षायाममा बाढी आइहाल्यो भने आवतजावतमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्