Logo
Logo

सुदूरपश्चिमका ५ जिल्लामा गठबन्धनविरुद्ध एकीकृत समाजवादीको उम्मेदवारी


1.3k
Shares

कन्चनपुर । सुदूरपश्चिमका ५ जिल्लामा सत्तारुढ नेकपा एकीकृत समाजवादीले एकल उम्मेदवारी दिएको छ । प्रदेशका ९ जिल्लामध्ये ४ जिल्लामा मात्र एकीकृत समाजवादी गठबन्धनमा आबद्ध भएर चुनाव लड्दैछ । अन्य ५ जिल्लामा भने मित्रवत् प्रतिस्पर्धामा उत्रिएको छ ।

एकीकृत समाजवादीले गठबन्धनबाट संघ र प्रदेशमा कुनै पनि क्षेत्र नपाएको कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र बाजुरामा बागी उम्मेदवारी दिएको हो ।

एकीकृत समाजवादी कन्चनपुरका इन्चार्ज लालबहादुर खड्काले आफूहरु अन्यायमा परेकाले एक्लै चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर–२ (२)मा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री खड्काले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा गठबन्धनबाट कांग्रेस नेता बहादुरसिंह थापा उम्मेदवार रहेका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले कञ्चनपुर प्रदेशसभा निर्वाचन क्षेत्र–३ (१)मा उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्र एकीकृत समाजवादीले पाउनुपर्ने दाबी गरेको थियो । तर, अन्तिम समयमा गठबन्धनबाट माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टले टिकट पाएपछि एकीकृत समाजवादीका बागी उम्मेदवारी दिएका हुन् ।

कञ्चनपुरमा एकीकृत समाजवादीलाई बाहिर राखेर माओवादी केन्द्र र कांग्रेसले भागबण्डा गरेका छन् । प्रतिनिधिसभाका तीन क्षेत्रमध्ये सत्ता गठबन्धनबाट क्षेत्र नम्बर १ माओवादी, २ र ३ कांग्रेसले पाएको छ भने प्रदेशसभातर्फ ६ क्षेत्रमध्ये कांग्रेसले ४ र माओवादीले २ सीट पाएको छ ।

यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एकीकृत समाजवादीका नेता डा. तारा जोशीले गठबन्धनविरुद्ध प्रदेशसभा (२)मा उम्मेदवारी दिएका छन् ।

०७४ मा एमालेबाट उम्मेदवार बनेका जोशी डडेल्धुराका तत्कालीन कांग्रेस सभापति कर्णबहादुर मल्लसँग झिनो मतान्तरले पराजित भएका थिए ।

यस्तै, डडेल्धुरा प्रदेशसभा (२)मा कांग्रेसबाट सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा र (१) मा माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट उम्मेदवार छन् ।

संघ माओवादीलाई छोडेर कांग्रेसले दुवै प्रदेशसभा आफूसँग राखेको बैतडीमा एकीकृत समाजवादीका नरेन्द्र विष्टले प्रदेशसभा (१)मा उम्मेदवारी दिएका छन् ।

गठबन्धनबाट प्रदेशसभा (१)मा कांग्रेसका वीरबहादुर विष्टको उम्मेदवारी परेको छ भने दार्चुला प्रदेशसभा (२)मा एकीकृत समाजवादीले वीरबहादुर ठगुन्नालाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा गठबन्धनबाट माओवादीका नेता मानबहादुर धामी (सन्तोष) उम्मेदवार छन् ।

बाजुराको प्रदेशसभा (१)मा एकीकृत समाजवादीका नरेशकुमार शाहीले गठबन्धनविरुद्ध उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका कर्णबहादुर विक उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्