Logo
Logo

पाँचथर : भिष्मराज र वसन्त को बलियो ?


1.4k
Shares

काठमाडौं । पाँचथरमा कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बे र एमाले नेता वसन्तकुमार नेम्बाङ प्रतिनिधि सभा सदस्यका लागि दोस्रो पटक प्रतिस्पर्धामा उत्रिएका छन् ।

कांग्रेसलाई सत्ता गठबन्धनको साथ छ । एमाले एक्लै मैदानमा छ । भिष्मराज कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । वसन्त एमाले अध्यक्ष केपी ओलीका अति निकट मानिन्छन् । त्यसैले दुवै केन्द्रीय राजनीतिमा पहुँच राख्ने नेता हुन् ।

२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा वसन्तले भिष्मराजलाई फराकिलो अन्तरले पराजित गरेका थिए । वाम गठबन्धनका उम्मेदवर वसन्त ३८ हजार ६ सय १६ मतसहित निर्वाचित हुँदा कांग्रेसबाट एक्लै लडेका भिष्मराजले २८ हजार ३५ मत पाएका थिए ।

तर, यसपटक राजनीतिक कोर्स फेरिएको छ । स्थानीय निर्वाचनको परिणाम हेर्ने हो भने एमाले निकै कमजोर बनेको छ । जिल्लाका ८ पालिकामध्ये ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ । एमाले र माओवादीले १–१ पालिका जितेका छन् । वडागत मत एमालेको बढी मत भए पनि सत्ता गठबन्धनका दलले पाएको वडागत मत एमालेको भन्दा साढे १२ हजार बढी छ ।

एमालेले ३० हजार ९ सय ५८, कांग्रेसले २५ हजार ६५, माओवादीले ११ हजार ८ सय ८, जसपाले २ हजार ६ सय ४३, नेकपा एसले २ हजार १ सय ६१ र राप्रपाले १ हजार ९ सय ९ मत पाएका थिए । यसरी हेर्दा पाँचथरमा सत्ता गठबन्धनलाई निर्वाचन जित्न सजिलो देखिन्छ । भौतिक पूर्वाधारमन्त्री भइसकेका वसन्त २०४८ र २०५६ र २०७४ मा सांसद भएका थिए ।

आङदेम्बे पनि संविधानसभा सदस्य निर्वाचित भएका थिए । एक निर्वाचन क्षेत्र रहेको पाँचथरको प्रदेश (ख) मा गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्योरो सदस्य तथा प्रदेश नम्बर एकका आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङबो उम्मेदवार छन् ।

एमालेबाट अइन्द्र सुन्दर नेम्बाङ प्रतिस्पर्धामा छन् । यस्तै प्रदेश सभा (क) मा नकेपा एसका कमल जबेगु सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन् । यहाँ एमालेले राजकुमार भण्डारीलाई उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्