Logo
Logo

नवौँ राष्ट्रिय खेलकुद : बागमतीलाई फेन्सिङमा पहिलो स्वर्ण


182
Shares

कास्की । बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङ खेलमा पहिलो स्वर्ण पदक हात पारेको छ । पोखरा रंगशालामा आजदेखि सुरु भएको फेन्सिङ खेलको सेबर विधानमा बागमती प्रदेशका शिक्षा नापितले स्वर्ण पदक जित्न सफल भए ।

सशस्त्र प्रहरी बलका उर्मिला लामालाई पराजित गर्दै नापितले बागमतीलाई पोखरामा पहिलो पदक दिलाउन सफल भए । यसैगरी नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा क्रमश : द्वितीय र तृतीय हुँदै रजत र कास्य पदक जित्न सफल भए ।

प्रतियोगितामा फेन्सिङतर्फ ‘इपी’, ‘फोयल’ र ‘सेबर’ विधामा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धा हुने कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले बताए । प्रतियोगितामा दुई विभागीयसहित छ टोलीको सहभागिता छ ।

प्रतियोगितामा नेपाली आर्मी, सशस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।

महिला क्रिकेटमा पुलिस क्लब विजयी

यसैगरी पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी महिला क्रिकेटको आजको खेलमा विभागीय नेपाल प्रहरीको पुलिस क्लब विजयी भएको छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा पुलिसले ६३ रनको फराकिलो अन्तरमा कर्णाली प्रदेशमाथि जीत निकाल्दै विजयी सुरुआत गरेको हो ।

पुलिस क्लबले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा बर्सातले खेल रोकिन पुगेको थियो । दस ओभर दुई बलको खेल जारी रहँदा पानी परेपछि ‘डिएलए मेथड’ अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो ।

खेल रोकिनुअघि कर्णाली प्रदेशले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक सात रन बनाए । पुलिस क्लबका सबनम राई, संगीता राई, कविता जोशी, ईश्वरी विष्ट र हिरनमाया रोयले समान एक/एक विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित १६ ओभरमा छ विकेटको क्षतिमा एक सय १० रनको योगफल तयार पारेको थियो । मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा चार ओभर घटाइएको थियो ।

पुलिसका लागि सम्झना खड्काले २१ बलमा दुई चौकाको मद्दतमा २५ रन बनाए । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । कर्णाली प्रदेशका लागि अञ्जु गुरुङले तीन तथा बीना थापा र एञ्जिला क्षत्रीले समान एक/एक विकेट लिए ।

महिला क्रिकेटका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् ।

यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् ।

नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म औपचारिक रुपमा गण्डकीका आठ जिल्लामा हुँदैछ । राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् ।

गण्डकीमा ४० वर्षपछि दोस्रो पटक भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र ६ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि आठ हजार हाराहारीमा खेलाडीहरुकाबीच प्रतिस्पर्धा हुने राखेपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्