Logo
Logo

खोटाङमा पासाङलाई सहज, विशाललाई संकट


29.6k
Shares

काठमाडौं । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा सत्ता गठबन्धनलाई सहज देखिएको छ । 

सत्ता गठबन्धन दलहरू एक भएर निर्वाचनमा होमिएपछि एमाले सङ्कटमा परेको हो । खोटाङमा मात्र नभई देशैभर यो निर्वाचनमा एमालेले  ठूलो हार बेहोर्ने देखिन्छ । 

०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर पहिलो दल बनेको एमाले यो पटक भने एक्लै चुनावी मैदानमा छ । 

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा खोटाङबाट एमाले नेता विशाल भट्टराईले निर्वाचित भएका थिए । यसपटक भने भट्टराईले गठबन्धनका साझा उम्मेदवार रामकुमार राई ‘पासाङ’ सँग प्रतिस्पर्धा गर्दैछन् । 

०७४ सालको निर्वाचनमा राई र भट्टराई सहयात्री थिए । वाम गठबन्धनबाट भट्टराईले प्रतिनिधिसभा सदस्य र राईले खोटाङ ‘ख’बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका थिए । उनीहरु दुवैले जिते । तर, यो पटक भने त्यसको ठिक उल्टो छ । दुवै जना एक-अर्काका प्रतिस्पर्धी छन् । 

०७४ मा दुवै जनालाई वाम गठबन्धनको साथ थियो । यो पटक भने राईलाई सत्ता गठबन्धनको साथ छ भने भट्टराईलाई आफ्नो पार्टी (एमाले)को मात्रै साथ छ । वाम गठबन्धन हुँदा भट्टराईले कांग्रेसका सरस्वती बजिमयलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।

दुई पटक खोटाङबाट निर्वाचन जितेका भट्टराई दुई पटक नै पराजित ब्यहोरी सकेका छन् । ०५६ सालमा पहिलो पटक निर्वाचन लडेका भट्टराई त्यसबेला कांग्रेसका शिवकुमार बस्नेतसँग पराजित भएका थिए । 

०६४ सालमा माओवादी नेता समिता कार्कीसँग पराजित भएका भट्टराईले ०७० को निर्वाचनमा पहिलो पटक निर्वाचन जितेका थिए । यसपटक हारे पनि जिते पनि भट्टराईको ‘ह्याट्रिक’ हुनेछ । 

०४१ सालदेखि राजनीति शुरु गरेका पासाङ ०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीबाट खोटाङ क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

०७४ सालको निर्वाचनमा उनी खोटाङ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएक थिए । हाल उनी प्रदेश १ का खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री छन् । पासाङ माओवादी केन्द्रीय सदस्य हुन् ।

अङ्गगणितमा पासङलाई सहज 

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतपरिणामअनुसार सत्ता गठबन्धनका उम्मेदवार पासङलाई  सहज देखिन्छ । स्थानीय तह निर्वाचनमा मतको आधारमा एमाले पहिलो पार्टी भएपनि सत्ता गठबन्धनले मत जोड्दा धेरै पछि देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा एमालेले २८ हजार ७९७ मत पाएको थियो । कांग्रेसले २६ हजार ६३३, माओवादी केन्द्रले १८ हजार ७३६, जसपाले ३ हजार र एकीकृत समाजवादीले २ हजार मत पाएका थिए । 

खोटाङमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ । आगामी निर्वाचनमा एमाले र जसपाले गठबन्धन गरेपनि खोटाङमा भने एमाले-जसपा एक्ला एक्लै चुनावी मैदानमा छन् । 

स्थानीय तहको मतअनुसार खोटाङमा एमाले नेता भट्टराई सकस र पासङलाई सहज देखिन्छ । स्थानीय तहको मतअनुसार भट्टराई भन्दा राई १८ हजार ५७२ मतले अघि छन् । गठबन्धनको सबै मत जोड्दा ४७ हजार ३६९ हुन्छ भने  एमालेको भने २८ हजार ७९७ छ । 

तर खोटाङका कांग्रेस नेताहरु असन्तुष्ट रहेकाले यो पटक पनि भट्टराईले जित्ने एमाले नेताहरूको दाबी रहेको छ । असन्तुष्ट रहेको कांग्रेसका नेता सर्वधन राईले बागी उम्मेदवारी दिएपनि पार्टीबाट निस्कासन गर्ने चेतावनी दिएपछि फिर्ता लिएका थिए । 

सर्वधन बागी उम्मेदवारी फिर्ता नलिएरको भए भट्टराईलाई सहज हुन्थ्यो । तर उनले बागी फिर्ता लिएसँगै भट्टराई संकट परेको हो । यो पटक निर्वाचन जित्न उनलाई फलामको चिउरा हुनेछ । 

दुवैजना जिल्लाका परिचित अनुहार हुन् । स्थानीयका स-साना समस्याहरूमा पनि साथ, सहयोग गरेका नेता पासाङ मिलनसार, सहयोगी भावनाका नेताको रुपमा चिनिन्छ । मन्त्री भएर पनि उनी सामान्य रुपमा नै जनतासमक्ष जाने गरेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डका विश्वासका पात्रका रुपमा चिनिने पासाङ जिल्लामा राम्रै छवि भएको नेताको रुपमा परिचित छन् । मिलनसार, सहयोगी भावना रहेको नेता पासाङले यो पटक निर्वाचन जित्न सहज हुने नेताहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्