लुम्बिनी । ‘पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन’, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भने, ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।’

रोइनिहवाका ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उनलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी छन् । ‘बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन’, उनले भने ।
सम्मरीमाई–७ का ५० वर्षीय रामदास लोधका दुई भाइ छोरा वैदेशिक रोजगारीमा छन् । कतारमा कमाएको पैसाले घर बनाउने योजनाअनुसार उनीहरुले महिनैपिच्छे पठाएको पैसा बाबु रामदासले नजिकैको शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गर्दै भौचर लिँदै आए । तर बैंक स्टेटमेण्टमा उनको खातामा पैसा छैन ।
गत साउन महिनामा नयाँ घर बनाउने भनेर जब उनी बैंकको भैरहवा शाखामा पैसा निकाल्न गए, उनको खातामा मात्र रु ९० हजार मात्र रहेको थाहा पाए । यो अवधिमा उनले सो बैंकमा रु चार लाख जम्मा गरिसकेको बताउछन् । अहिले उनी बैंकले नै पैसा गायब पारिदिएको दुःखेसो पोख्दै न्यायको खोजीमा भौँतारिरहेका छन् ।
सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले पनि माछापुच्छ्रे बैंकको उक्त शाखारहित सेवा लिँदै २१ पटक गरी रु १५ लाख ८० हजार जम्मा गरे । उनको खातामा पनि उक्त पैसा छैन । खातामा पैसा नदेखिएपछि उनले बैंकमा निवेदन दिन जानुभयो तर बैंकले उनको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिन तयार नरहेको उनको गुनासो छ ।
आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई–५ स्थित माछापुच्छ्रे बैंकको सो शाखारहित कार्यालयमार्फत सेवाग्रहीले जम्मा गरेको भौचर छ । तर, उनीहरुको बैंक खातामा भने रकम छैन । खातामा जम्मा गरिएको रकम कहाँ गयो ? भन्ने प्रश्नमा बैंकले आलटाले जवाफ दिँदै आएको सेवाग्राहीको भनाइ छ ।
सेवाग्राहीले क्षमताअनुसार रु पाँच हजारदेखि १६ लाखसम्म जम्मा गरेको बताएका छन् । यसरी जम्मा गरेको करिब रु तीन करोड एजेन्ट र बैंककै कारण गायब भएको उनीहरुको गुनासो छ । पैसा जम्मा गर्नेहरूले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेबारीदेखि, भैँसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका रहेछन् । बैंक र त्यसका एजेन्टलाई कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ ।
ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित माछापुच्छ्रे बैंकले त्यहाँ स्थानीय एजेन्ट रोइनिहवाका निरञ्जन पाठकसँग सम्झौता गरेर शाखारहित बैंकिङ सेवा दिँदै आएको हो । पाठकले बैंकमा सेवा दिनका लागि बैंकका कर्मचारी स्थानीयवासी सिकन्दर ठाकुरलाई व्यवस्थापक राखेका थिए । सेवाग्राहीले उनै ठाकुरलाई पैसा बुझाउँदै पैसा बुझाएबापतको डिपोजिट भौचर ल्याउने गर्थे ।











