रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार डा. कमल भुसाल पनि अदालत गएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आफ्नो उम्मेदवारी खारेज गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
यसअघि निर्वाचन कार्यलयले उम्मेदवारी खारेज गरिदिएपछि राजु गुरुङले पनि सर्वोच्च अदालत गुहारेका छन् । गुरुङसँगै भुसाल पनि अदालत गुहारेका हुन् ।

असोज २८ गते शुक्रबार भुसालले निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । आफ्नो उम्मेदवारी कायम रहनुपर्ने माग गर्दै दर्ता गरिएको रिट निवेदन आइतबार वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।
स्वतन्त्र उम्मेदवार बनेका भुसालले आफू एमडीमा अध्ययनरत रहेको र राज्यले निर्वाह भत्ता दिएको आधारमै लाभको पद लिएको भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको उम्मेदवारी खारेज कानूनसम्मत नभएको भन्दै रिट दायर गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतले बदनियत राखेर आफ्नो उम्मेदवारी खारेज गरिदिएको भन्दी डा.भुसालले निर्वाचन अधिकृतलाई समेत विपक्षी बनाएका छन् ।
निर्वाचन अधिकृतले कुनै व्यक्ति विशेषलाई फाइदा पुग्नेगरी स्वार्थ राखेर प्रतिस्पर्धी उम्मेदवारको उम्मेदवारी खारेज गरिदिएको भुसालको आरोप छ ।
रुपन्देही २ का निर्वाचन अधिकृत उदवीर नेपालीले एमाले उपाध्यक्ष विष्णु पौडेलमात्रै मुख्य प्रतिष्पर्धामा रहनेगरी सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका राजु गुरुङ र चर्चामा रहेका स्वतन्त्र उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज गरिदिएका थिए ।











