काठमाडौं । प्रदेश १ का का खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राई ‘पासाङ’ले सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत दिक्तेल-गाईघाट सडकखण्डमा पर्ने सुनकोशीको फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुल तत्कालिन संविधानसभा सदस्य विशाल भट्टराईले पहल गरेको कुरा झुटो रहेको दावी गरेका छन् ।

निर्वाचन नजिकिएसँगै एमाले नेता भट्टराईका समर्थकले उक्त पुल भट्टराईकै नेतृत्वमा भएको भन्दै सामाजिक सञ्जाल तताएपछि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पासाङले यस्तो टिप्पणी गरेका हुन् ।
उनले फोक्सिङ्टार पुलबारे झुटको खेति गरेको बताएका छन् । ‘फोक्सिङ्टार पुल ०६६ मा रातो किताबमा बजेट छुटिएर डिपिआर भयो र डिपिआरफेफ भयो र ६७ मा फेरि डिपिआर भएपछि ६८ मा रातो किताबमा बजेट परेपछि टेन्डर भई ०६९ मा सरकार र निर्माण कम्पनीसँग सम्झौता भई काम शुरु भएको हो’, मन्त्री पासाङले भनेका छन् ।
‘७० सालमा संविधानसभा सदस्य विशाल भट्टराईले सम्पूर्ण पहल गरेको रे कति हासनु हौ’, उनले भनेका छन् । नेता भट्टराईका समर्थकले पछिल्लो समय उक्त पुललाई निर्वाचनको लागि प्रयोग गर्दै आएको छ ।
एमाले कार्यकर्ताहरुले उक्त पुल आफ्नो नेता भट्टराईले गर्दा अहिले निर्माण सम्पन्न हुन लागेको दावी समेत गर्दै आएका छन् । वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको थियो ।











