Logo
Logo

प्रधानमन्त्री आज सिंगापुर जाँदै, नेकपा सचिवालय बैठकद्वारा स्वास्थ्यलाभको कामना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बिहीबारको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, प्रधानमन्त्री ओली सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष प्रचण्डले बैठक आह्वान गरी निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि आज अपराह्न सिंगापुर प्रस्थान गर्दैछन् । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल नभए पनि सिङ्गापुरमा रहँदा चिकित्सकको सुझावअनुसार पुनः जान लागेका हुन् ।
प्रधानमन्त्री ओली ७÷१० दिन त्यहाँ रहने जनाउँदै श्रेष्ठले यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी आजको बैठकमा भएको जानकारी दिए ।
नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्