Logo
Logo

तिहारमा चार नेपाली फिल्म भिड्दै



काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गर्दै चार फिल्म नेपाली फिल्म प्रदर्शन हुँदैछन् । वितरक करण श्रेष्ठका अनुसार कात्तिक ४ मा ‘के घर के डेरा’ र ‘नालापानी’, कात्तिक ११ मा ‘महापुरूष’ र कात्तिक १८ मा ‘लाखे’ प्रदर्शनमा आउने भएको हो ।

अभिनेता दयाहाङ राईले आफू अभिनित फिल्म ‘के घर के डेरा’ ले दुवैतर्फको कथा भन्ने जानकारी दिए । उनले डेरामा बस्ने मात्र नभइ घर हुनेको पनि छुटै पीडा हुने बताउँदै मध्यमार्गी भएर कथा देखाउने कोसिस गरेको बताए । उनले भने, ‘मलाई भने डेराको समयमा फर्कायो ।’ फिल्ममा अभिनेता राईसँगै विपीन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानीगढीमा भएको अङ्ग्रे्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधारित ‘नालापानी’ वर्षौंको मेहनतले तयार गरिएको अभिनेता अर्जुनजंग शाहीले बताए ।

यसमा अभिनेता शाहीसँगै देशभक्त खनाल, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, सहिना भट्टराई, गीत विष्ट, युगजङ्ग कार्की लगायतको अभिनय छ ।

फिल्मलाई रिमेश अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन् । कात्तिक ११ गतेबाट प्रदर्शन हुने ‘महापुरूष’ मा अभिभावकको एक्लोपनको कथा देखाइएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले जानकारी दिए ।
आफ्नो व्यस्त जीवनमा रमाइरहेको सन्तान र अभिभावकबीचको सम्बन्ध र चाहनालाई सरल रुपमा प्रस्तुत गरिएको निर्देशक भट्टराईले बताए । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक भट्टराईले यसअगाडि जात्रा, शत्रु गते र जात्रै जात्राको निर्देशन गरिसकेका छन् ।
द्वन्द्वप्रधान फिल्म ‘लाखे’ मा सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संयोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय रहेको छ ।

‘यसको मेकिङ निकै मेहनत गरिएको छ । विदेशी फिल्म झैँ द्वन्द्वमा मेहनत गरिएको छ’, अभिनेता ताम्राकारले भने । सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्