Logo
Logo
कला

‘हाकिम हुने इच्छा थियो, मोडल भएँ’



काठमाडौं । मोडलिङ अँगाल्दै गर्दा सुनिता वाइवालाई लाग्थ्यो– यो क्षेत्र रहरमात्रै हो । तर, अहिले उनलाई ‘मोडलिङ गरेरै पनि जीन्दगी चल्नसक्छ’ भन्ने लाग्छ ।

काठमाडौं । मोडलिङ अँगाल्दै गर्दा सुनिता वाइवालाई लाग्थ्यो– यो क्षेत्र रहरमात्रै हो । तर, अहिले उनलाई ‘मोडलिङ गरेरै पनि जीन्दगी चल्नसक्छ’ भन्ने लाग्छ ।

ललितपुर, बतासेकी सुनिता करिब ९ वर्षदेखि मोडलिङ क्षेत्रमा छन् । तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका सुनिता भन्छन्– ‘सुरुका दिनहरुमा फ्रिमै मोडलिङ गर्नुपर्दा रहरमात्रै रहेछ भन्ने लागेको थियो । अहिलेचाहिँ आशा पलाएको छ ।’

लजालु स्वभावकी सुनिताले उच्च शिक्षा हासिल गरेर ‘हाकिम’ बन्ने उद्देश्य लिएका थिए । तर, अचानक ग्ल्यामर क्षेत्रमा पाइला राख्न पुगे । आफूले चाहेजस्तै स्क्रिप्ट भएको फिल्ममा प्रस्ताव आएमा काम गर्न तयार सुनिता भन्छन्– ‘मलाई मोडलिङ ठीकै लाग्न थालेको छ । महिनेत गर्यो भने मोडलिङबाट पनि जिन्दगी चल्छ भन्ने आशा पलाएको छ ।’ कुशल डान्सरसमेत रहेका सुनिता वाइबासँग दृष्टिको जम्काभेट :

आजभोलि के गर्दै हुनुहुन्छ ?
केही दिनयता घरमै आराम गर्दैछु । केही स्टेज कार्यक्रमका लागि कुरा भइरहेको छ ।

गीत पनि गाउनुुहन्छ कि मोडलिङ मात्रै ?
गीत गाउँदिन । लेख्ने चाहिँ गरेकी छु । खासमा मेरो क्षेत्र मोडलिङ हो । समय मिल्दा गीत लेख्ने गरेकी हुँ ।

तपाईंलाई गीतकार भन्न मिल्छ ?
रहरले मात्र गीत लेख्ने गरेकी हुँ । खासमा म गीतकार होइन । त्यसैले मलाई मोडल नै भन्न उपयुक्त होला ।

मोडलिङमा कसरी लाग्नुभयो ?
मोडलिङ क्षेत्रमा लाग्छु भन्ने मैले सोचेकै थिएनँ । पढ्न काठमाडौं आएपछि अचानक यो क्षेत्रमा पाइला राख्न पुगेँ । पढ्दै गर्दा एक फाइनान्समा काम गर्थेँ । त्यतिखेरै फाइनान्सकै एक जना दाईले ‘मोडलिङ गर्ने हो ?’ भनेर प्रस्ताव गरेपछि यो क्षेत्रमा पाइला राखेकी हुँ ।

इच्छाचाहिँ के थियो नि ?
धेरै पढेर हाकिम बन्ने इच्छा थियो । तर, मैले पढाइलाई अगाडि बढाउन सकिनँ । प्लस–२ सम्म अध्ययन गरेर छाड्नुपर्याे । कारण त्यो समयमा घरको आर्थिक अवस्था पनि कमजोर थियो । त्यही समयमा ममी पनि बिमारी हुनुभयो । त्यसैले पढाइ नै छोड्नुपर्यो । र, हाकिम बन्ने सपना अधुरै रह्यो ।

मोडलिङमा लाग्नुभएको कति भयो ?
लगभग नौ वर्ष भयो । २०७१ सालबाट यो क्षेत्रमा लागेकी हुँ । त्यसयता निरन्तर मोडलिङमै छु ।

मोडलिङ क्षेत्रमा खुसी हुनुहुन्छ ?
अहिले त खुसी नै छु । सुरुका दिनहरूमा चाहिँ ‘मोडलिङ रहरमात्रै रहेछ’ भन्ने लागेको थियो । किनकि, मोडलिङ गरेकोसमेत पैसा पाइँदैनथ्यो । तीन–चार वटा भिडियो मैले फ्रि मै गरेको छु । अहिलेचाहिँ राम्रै पारिश्रमिक पाइन्छ । त्यसैले मोडलिङबाट पनि जीन्दगी चलाउन सकिन्छ भन्ने आशा पलाएको छ ।

सुरुमा पारिश्रमिक नपाउनुको कारण के थियो ?
जतिखेर मैले मोडलिङ अँगाल्दैथिएँ, त्यो बेला मलाई मात्र होइन, नयाँ कलाकारलाई फ्रिमै काम लगाउने प्रवृति थियो । काम गर्दै जाँदा र अनुभव बटुल्दै गएपछि भनेजस्तै पारिश्रमिक पाउन थालेँ ।

सुरुका दिनमा मोडलिङ गर्दाको अनुभव कस्तो थियो ?
आफ्नो भिडियो हेर्दा लाज लाग्थ्यो । म अलि लजालु पनि थिएँ । आफ्नै भिडियो कसैले देखाइदियो भने पनि लाज लाग्थ्यो । अहिले पनि आफ्नो भिडियो हेर्दा अड लाग्छ ।

लजालु भएर कसरी अभिनय गर्नुहुन्थ्यो ?
अभिनय गर्दाचाहिँ लाज लाग्दैनथ्यो । तर, भिडियो तयार भएर हेर्दा चाहिँ लाज लाग्थ्यो । अहिले त पहिलेजस्तो लजालु पनि छैन ।

मोडलिङबाहेक के गर्नुहुन्छ ?
पहिले त काम गर्थेँ । अहिलेचाहिँ केही गर्दिनँ । काम गर्दै मोडलिङ गर्दा समय पनि मिलाउन गाह्रो हुन्छ । त्यसैले अहिले त्यतिकै बसेकी छु । राम्रो जागिर पाएँ भने अबचाहिँ गर्छु ।

फिल्मका लागि प्रस्ताव आयो भने गर्नुहुन्छ ?
यसअघि पनि फिल्ममा प्रस्ताव आएको थियो । तर, स्क्रिप्ट मन परेन र समय पनि नमिल्ने भएर गरिनँ । फिल्मका लागि एक–दुई महिना समय दिनुपर्ने भएकाले फिल्मको प्रस्ताव इन्कार गरेँ । तर, अबचाहिँ राम्रो कथा र ब्यानरबाट अफर आयो भने गर्छु ।

तपाईंले गर्न चाहको कस्तो फिल्म हो ?
मलाई लभस्टोरी फिल्म मनपर्छ । राम्रो मन छुने लभस्टोरी फिल्मका लागि अफर आयो भने काम गर्न तयार छु ।

तपाईंको लभस्टोरीचाहिँ के छ ?
अहिले त्यतातिर ध्यानै दिएकी छैन । हेर्दै जाऊँ, समय आएपछि आफ्नो लभस्टोरी पनि होला ।

ग्ल्यामरस क्षेत्रमा हुनुहुन्छ । प्रेम प्रस्ताव कतिको आउँछ ?
अफरहरू त आइरहेको हुन्छ । अहिलेसम्म करिअरमा मात्र ध्यान दिएकी छु । त्यसैले अहिलेसम्म मेरो अफेयर्स छैन । म त्यति राम्री पनि छैन । म राम्री देखिएको मेकअपले मात्र हो ।

बाँकी उद्देश्य के छ ?
स्कुल पढ्दै गर्दा उद्देश्य बनाएकी थिएँ । अहिले त केही योजना नै बनाएकी छैन । जे आउँछ, बेहोर्दै जाने हो ।

प्रतिक्रिया दिनुहोस्