Logo
Logo

१० वर्षसम्म फर्केर पनि नहेरेको ‘फोक्सिङ्टार पुल’ विशालको चुनावी मसला



काठमाडौं । निर्वाचन नजिकिएसँगै नेताहरूले विकासका कामलाई मसला बनाउन थालेका छन् । आफूले गर्दै नगरेको काम पनि आफूले गरेको भन्दै प्रचार गर्न शीर्षदेखि सामान्य नेतासम्म पछि परेका छैनन् ।

त्यसो त जस लिने काम निर्वाचनको समयमा मात्र हुँदैन । अन्य समयमा पनि जस लिन नेताहरूबीच होडबाजी नै चल्छ । निर्वाचन नजिकिएसँगै त्यो क्रम ह्वात्तै बढेको छ ।

देशभर यस्तै होडबाजी चलेको छ । त्यसमध्ये एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको खोटाङमा जारी जस लिने होडबाजीको चर्चा गरौँ ।

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीको फोक्सिङ्टारमा एउटा पुल निर्माणाधीन छ । निर्माण सम्पन्न हुन अझै समय लाग्छ । तर, नेताहरूको लागि राम्रो चुनावी मसला बनेको छ ।

विशाल भट्टराई यस क्षेत्रबाट एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । यो पुल निर्माणका लागि विशालको योगदान नै छैन भन्दा फरक पर्दैन् । तर, विशालकै अगुवाइमा यो पुल निर्माण सम्पन्न हुन लागेको भन्दै प्रचार गर्ने एमाले नेता कार्यकर्ताको लर्को छ ।

कामै नगरी एमालेले जस लिन खोजेको विषय माओवादी र अन्य राजनीतिक दलका नेता कार्यकर्तालाई पचेको छैन । एमालेका नेता कार्यकर्ताले झुटको खेती गरेर भोट बटुल्ने प्रयास गरेको नेकपा माओवादीका नेता कार्यकर्ता आरोप लगाउँछन् । 

सम्झौता अनुसार उक्त पुल यतिखेर सम्ममा सञ्चालनमा आइसक्नुपर्ने हो । तर, दश वर्षपछि बल्ल निर्माण सम्पन्न हुन लागेको छ । तै पनि उक्त कामको जस लिन जिल्लाका राजनीतिक दल होडबाजी चलिरहेको छ । दलका नेता कार्यकर्ता हाम्रो नेताले गरेको काम भन्दै झुटो प्रचारमा जुटेका छन् । त्यसमा कामै नगरेको एमालेका नेता कार्यकर्ता अगाडि छन् । 

एमालेका नेता कार्यकर्ताले उक्त पुललाई चुनावी मसला बनाउन खोजेको भन्दै सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई ‘पासाङ’ले भने– ‘फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलमा विशालको कुनै पहल छैन । त्यो पुल ०६६ मा रातो किताबमा परेर पछि बजेट बिनियोजन भएको हो । ०६९ मा सरकार र निर्माण कम्पनीबीच सम्झौता भई काम शुरु भएको हो । विशाल २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएको हो । उहाँको न हात छ न खुट्टा, केही छैन । त्यो हाम्रो समिता कार्की (अस्मिता) र मेरो कार्यकालमा भएको हो ।’

​​​​​​​जसको पालमा काम सुरु भएको भए पनि पछिल्लो संसद्‌मा जनप्रतिनिधिको रुपमा विशाल सांसद्‌ रहेकाले त्यसलाई पूर्णता दिन पहल गर्नसक्थे । तर, विशालबाट केही काम भएन । त्यसैले पुल निर्माणले अझै पनि पूर्णता पाउन सकेको छैन ।

काम गर्ने ठाउँमा हुँदा केही गर्न नसकेको विशाल निर्वाचन नजिकिएपछि भने आफैले गरेको र बाँकी काम पनि आफैले पूरा गर्ने भन्दै प्रचारमा उत्रेका छन् । 

विशाल र उनका कार्यकर्ताले विशालकै पहलमा पुल निर्माणको काम अघि बढेको भनेर प्रचार गरेको स्थानीयलाई मन परेको छैन । स्थानीय प्रश्न गर्छन्– ‘आफ्नै पार्टी सरकारमा हुँदा केपी शर्मा ओलीको विश्वास पात्रको रुपमा चिनिए पनि केही गर्न नसक्नेले अहिले मैले गरेको काम भनेर प्रचार गर्न लाज लाग्दैन ?’

उक्त पुल माओवादीका सांसदको पालमा योजनामा परेको थियो । तर, निर्माण सम्पन्न गर्ने समय भने विशालको पालामा परेको थियो । २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको थियो ।  

भट्टराई २०७० मा पहिलो पटक जिल्लाबाट संविधानसभा सदस्य बने । त्यसपछि २०७४ मा पनि उनी दोस्रो पटक सांसद बने । त्यसपछि नेकपा सरकार बन्यो । दुई पटक गरी विशाल १० वर्ष प्रतिनिधिसभा सदस्य भए । तर, यो १० वर्षमा विशालले एक पटक पनि फर्केर त्यो पुल नहेरेको जनगुनासो छ ।

जनप्रतिनिधिको रुपमा १० वर्ष काम गर्दा पनि पुल निर्माणमा चासो नदिएका विशाल र उनको पार्टी नेकपा एमालेका नेता कार्यकर्ताले आफ्नो पार्टीको पहलमा पुल निर्माण सुरु भएको र आफ्नै पार्टीले पूरा गर्ने भनिरहँदा जनताले भने विश्वास गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्