Logo
Logo

भोट माग्न गाउँ पसे उम्मेदवार


441
Shares

कालीकोट । दसैं र तिहार सकिएसँगै उम्मेदवार भाेट माग्न गाउँ पसेका छन् ।

सत्ता गठबन्धन, एमाले गठबन्धन, विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेवार चुनावी प्रतिस्पर्धामा छन् ।

चाडबाडका समयमा नागरिक बीचमा विभिन्न पार्टी कार्यकर्तासँग छलफल गठबन्धनको बैठक भइरहेको गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रतिनीधिसभाका उम्मेदवार महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

‘हामी गठबन्धनका साझा एजेण्डा लिएर चुनावी मैदान होमिएका छौं’, उनले भने, ‘अहिले हामीले गठबन्धन संयुक्त चुनाव प्रचार-प्रसार समिति तथा अन्य काम सकेर नागरिकबीचमा पुगेको छौं ।’

नेपाली कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलसँग तालमेल गरेर चुनावी अभियान जुटेको कांग्रेस प्रदेशसभा (ख) का उम्मेदवार हिक्मतबहादुर विष्टले जानकारी दिए ।

‘मैले मेरो निर्वाचन पालिका रहेको नरहरिनाथ गठबन्धनको कार्यक्रम सकेर सान्नी त्रिवेणी गाउँपालिका गठबन्धन दलको बैठक सकेर रास्कोटमा लागेको छु,’ उनले भने, ‘चाडबाड सकियो । कांग्रेसले अहिले सम्पूर्ण शक्ति चुनाव प्रचार–प्रसारमा लगाएको छ ।’

नेकपा (एमाले) प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्रबहादुर शाहीले पार्टीको एजेण्डा लिएर गाउँगाउँमा मतमाग्ने काम भइरहेको बताए । ‘अहिले म नागरिकका बीचमा छु । पार्टी र मेरो भावी चुनावी घोषणापत्र लिएर प्रचार–प्रसार गरिरहेको छु,’ उनले भने ।

जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका महेन्द्रबहादुर, एमालेका नगेन्द्र र स्वतन्त्र उम्मेदवार काशीचन्द्र बराल प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्