Logo
Logo

कपिलवस्तुमा पुरानै अनुहार चुनावी मैदानमा



कविलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह चुनावी मैदानमा छन् । उनी २०६३ सालयता निरन्तर सांसद रहेका छन् ।

शाह चौथोपटक सांसद बन्ने प्रयासमा छन् । उनी २०७० सालमा सङ्घीय समाजवादी, २०७४ मा नेपाली कांग्रेस र अहिले पुनः गठबन्धनबाट उम्मेदवार बनेका छन् । विसं २०७४ को निर्वाचनमा शाहले २० हजार एक मत ल्याएका थिए । विगतमा गरेको कामका आधारमा अहिले आफू सहजै जित्ने शाहको दाबी छ ।

यस्तै, कपिलवस्तु–३ मा एमालेबाट मङ्गलप्रसाद गुप्ता उम्मेदवार छन् । गुप्ता २०७४ सालमा जसपाबाट उम्मेदवार बनेका थिए । सो क्षेत्रमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वरदयाल मिश्र उम्मेदवार छन् ।

गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर उठेका मिश्र यसपटक भने आफ्नै पार्टीबाट उम्मेदवार बनेका छन् । कपिलवस्तुमा ठूला दलले पूरानै उम्मेदवार दोहो¥याएका छन् ।

नयाँ अनुहारका रूपमा कपिलवस्तु–१ बाट लौरो अभियानका देवेन्द्रकुमार शर्मा र कपिलवस्तु–३ बाट मौलिक जरोकिलो पार्टीका यमन उपाध्याय उम्मेदवार बनेका छन् ।

कपिलवस्तु क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र)ले चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले)बाट बलराम अधिकारी चुनावी मैदानमा होमिएका छन् । विसं २०७४ मा वाम गठबन्धनबाट विजयी खनाल यसपटक कांग्रेसको साथ लिएर निर्वाचनमा उत्रिएका छन् ।

गत निर्वाचनमा खनालले २९ हजार सात सय ९९ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार आठ सय ५३ मत पाएका थिए । एमालेले २०७० सालमा निर्वाचित बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा अधिकारी र खनाल एकै ठाउँमा थिए । क्षेत्र नं १ मा दुवै पहिलाकै सांसद हुन् ।

कपिलवस्तु क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार सुरेन्द्रराज आचार्य र एमालेका वृजेश गुप्ताबीच प्रतिस्पर्धा हुने देखिन्छ । दुवै नेता पटक–पटक सांसद र मन्त्रीसमेत भइसकेका व्यक्ति हुन् ।

दुईपटक कांग्रेसका जिल्ला सभापति भएका आचार्य गत निर्वाचनमा गुप्तासँग पराजित हुनुभएको थियो । गुप्ता भने चारपटक सांसद भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्