धरान । नेकपा एमालेका अध्यक्ष केपी ओली चुनावी प्रचारको क्रममा शुक्रबार धरान पुगेका छन् । झापा हुँदै चुनावीसभालाई सम्बोधन गर्न धरान पुगेका ओली शुक्रबार सधैझै चुनावी प्रचारमा भन्दा बढी प्रतिस्पर्धी दलहरुलाई सराप्न र गाली गर्नमै बढी खर्चिए ।

ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बाठो पार्टी भएको समेत भन्न भ्याए । देशका ती निर्वाचन क्षेत्रमा राप्रपासँग चुनावी तालमेल गरेका एमाले अध्यक्ष ओलीले भने, ‘राप्रपा बाठो रहेछ । अब राष्ट्रिय पार्टी बन्छ ।’ एमालेसँग तालमेल गरेकै कारण ओलीले यस्तो विश्लेषण गरेको हुनसक्छ ।
ओलीले एमालेसँग तालमेल गरेका पार्टीहरु राष्ट्रिय पार्टी बन्ने र अरु ध्वस्त हुने संज्ञा दिए । ओलीले एकीकृत समाजवादी त पार्टी नै नभएको बताए । ओलीले भने, ‘जनता समाजवादी पार्टी (जसपा) मंसिरको निर्वाचनपछि पनि राष्ट्रिय पार्टी रहने छ ।’
उनले चुनावी सभालाई सम्बोधन गर्दै जसपा राष्ट्रिय पार्टी बन्ने भएपनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को दशा बिग्रिएर एमाले छाडेर सत्ता गठबन्धनतिर लागेको टिप्पणी गरे ।
ओलीले एमाले एक्लै भएको भनेर हल्ला चलाएको भन्दै जसपा र राप्रपालाई मिलाएको र तालमेल गरेको बताए ।
ओलीले भने, ‘जसपा यसपल्ट राष्ट्रिय पार्टी नै कायम रहन्छ । लोसपा हामीसँग अलिक समय थियो, ककसको इशारामा के के भयो, कसो भयो उहाँहरुले जान्ने कुरा भयो, छोडेर गठबन्धनतिर लाग्यो । दिन दशा विग्रिएपछि त्यस्तै हुँदोरहेछ । अब राष्ट्रिय पार्टी रहँदैन ।’
ओलीले राप्रपाको भविष्यवाणी गर्दै भने, ‘राप्रपा बाठो रहेछ । समयमा बुद्धि पुर्याएर ठ्याक्क समयमा आए ।’ उनले एमालेसँग लड्न सक्ने हैसियतको कुनै पार्टी नै नेपालमा नभएको दावी गर्दै उनले कांग्रेससँग विचार र संगठन सकिएको बताए ।
यस्तै, ओलीले कांग्रेस र माओवादीलगायतका गठबन्धन दलको कटाक्ष गर्दै भने, ‘नेपाली कांग्रेससँग विचार छैन, संगठन छैन । ढोडका बैसाखी टेकेर हिँडेको छ । देश विकसका सन्दर्भमा बहस गर्न कांग्रेस आओस् भनेको मैले चाईंचुई छैन । चुनाव लड्न आओस् भनेको । कांग्रेस सभापतिले भनेको सुन्नुभएको होला । एक्लै लड्न गयो भने एमालेले सिध्याउछ भनेको । कतिपल्ट एमालेले कांग्रेसका सिङ फुकालिसकेको छ ।’
ओलीले जोगी र मुसोको कथा सुनाउँदै ओलीले भने, ‘त्यो दुई तिहाइको दुरुपयोग गरेर एमाले सिध्याउँछु भन्ने प्रचण्डलाई कुबुद्धि नपलाओस् ।’ उनले सुनसरीबाट अशोक राईले जित्ने र एमाले कार्यकर्ताले जिताउने घोषणा गर्दै माधव नेपालको पार्टी रित्तिइनै सकेको बताए । ओलीले अशोक राई आफ्नो पार्टीको उपाध्यक्ष भएको समेत बताए । उनले भने, ‘उहाँ (अशोक राई) त मेरो उपाध्यक्ष पनि हो, उहाँलाई जिताउनुपर्छ ।’












