गुल्मी । प्रतिनिधिसभातर्फ गुल्मी-२ का सत्ता गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीले नेकपा एमालेकै भोटले आफूले जित्ने बताएका छन् । शुक्रबार गुल्मीमा आयोजित चुनावीसभलाई सम्बोधन गर्दै आफूलाई एमालेको नेता–कार्यकर्ताको समर्थन रहेकाले एमालेकै भोटले जित्ने उनले बताए ।

आफ्नो प्रतिस्पर्धी एमालेका गोकर्ण विष्टको समेत आफूलाई समर्थन गरेको उनको भनाइ थियो । एमालेकै मतले निर्वाचन जित्ने पनि उनीले बताए । उनले भने, ‘म जुन जुन गाउँमा पुगेँ, त्यहाँ एमालेका दाजुभाइ, दिदी बहिनीहरूको अपार माया र समर्थन पाएँ । र, यसपालि भित्री मनले गोकर्ण दाइले पनि मलाई समर्थन गर्दै हुनुहुन्छ ।’
एमालेबाट विभाजन भएर बनेका नेकपा एकीकृत समाजवादी पार्टीको सचिव समेत रहेका झाँक्रीले विगतका सच्चा एमाले आफ्नो पार्टीभित्रै रहेको बताए । वृद्ध भत्ता दिलाउने देखि आफ्नो गाउँ आफै बनाऔँ भन्ने कार्यक्रम ल्याउने नेताहरू अहिले एकीकृत समाजवादीमै रहेको उनले बताए ।
उनले भने, ‘वृद्ध वृद्धाहरूलाई भत्ता दिलाउने देखि आफ्नो गाउँ आफै बनाऔ भन्ने कार्यक्रम ल्याउने नेता मनमोहन अधिकारीको पूरै टिम माधव, झलनाथ लगायतका नेताहरू अहिले एकीकृत समाजवादीमै हुनुहुन्छ । विगतको एमालेको नेतृत्व एकीकृत समाजवादीले गरिरहेको छ । र, सच्चा एमालेको साथ हामीलाई छ ।’
यता, गोकर्णले भने झाँक्री आफ्नो प्रतिस्पर्धी नै नभएको टिप्पणी गर्दै आएका छन् । गत निर्वाचनमा १५ हजार बढि मतले जित हासिल गरेको र यसपालि त्योभन्दा पनि बढी मतान्तरले जित्ने दाबी गर्दै आएका छन् ।














