
१. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकियो, राजनीतिक दलका नेता तथा उम्मेदावरको दौडधुप, सबै निर्वाचन क्षेत्रमा मपतत्र पुग्यो, देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न, अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने ।

२. बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ, मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार सङ्कलन र सम्प्रेषण गर्न पत्रकारलाई आग्रह ।

३. प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले मुलुक कता जाने हो भन्ने कुराको फैसला गर्ने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइ, ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको अभिव्यक्ति, सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको भनाइ ।

४. संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा उभिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप, ओलीकै कारण संविधान धरापमा परेको टिप्पणी ।

५. एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने अध्यक्ष केपी शर्मा ओलीको दाबी, दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षड्यन्त्रस्वरूप स्वतन्त्र अभियान चलाइएको टिप्पणी, मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन कार्यकर्तालाई निर्देशन ।

६. संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको भनाइ, देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र भएको र संविधान र मुलुकको विकासका लागि जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास, लामो सङ्घर्ष र बलिदानबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको भनाइ ।

७. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को रापताप उत्कर्षमा पुग्दै गर्दा महोत्तरीको बर्दिबास क्षेत्र भने डेङ्गु महामारीको चपेटामा, डेङ्गु जाँच गराउने र सङ्क्रमण पुष्टिपछिको उपचारको सेवा लिनेहरूले बर्दिबास अस्पताल भरिभराउ, कात्तिक महिनामा मात्रै १२६ जनामा डेङ्गु सङ्क्रमणको पुष्टि ।

८. कलाकार पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरमा पुनरावेदन दिए, नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालतले पललाई दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन ।

९. बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपाललाई, ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बन्यो, प्रतियोगितामा अपराजित नेपालले चार खेलबाट ३ जित र एक बराबरीसहित १० अंक जोड्यो ।

१०. अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुँदै, अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता, दुई राष्ट्रपतिबीच इण्डोनेसियाको बालीमा हुने जी २० शिखर सम्मेलनमा आगामी सोमबार भेटवार्ता हुने ह्वाइट हाउसद्वारा जानकारी, अमेरिकाले आगामी शिखर सम्मेलनलाई चीनसँग बिग्रेको सम्बन्ध सुधार्न उपयोग गर्ने नीतिअनुरुप राष्ट्रपति सिसँग भेटवार्ता गर्न लागेको भनाइ ।













