Logo
Logo

किन गर्‍यो ट्वीटरले ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज ?



काठमाडौं । ट्वीटरले ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम तत्कालका लागि खारेज गरेको छ ।

अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि एलन मस्ककाे उक्त निर्णय शुक्रबारदेखि खारेज भएको हो ।

मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे । तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हेरक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने बनाएका थिए ।

पैसा तिरेर ट्वीटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरुपयोग गर्दै अमेरिकामा एकजना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरे र आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्वीट गरे । आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्वीट गरेपछि कम्पनीले सार्वजनिक रुपमा माफी माग्नुरेको थियो ।

केवल एली लिली कम्पनी मात्र होइन नाइनटेनडू, लकहीड मार्टिन, टेस्ला तथा स्पेस एक्सलगायतको पनि मानिसहरूले फर्जी खाता बनाएका छन् । ट्वीटरमा कारोबार गर्ने यस्ता विज्ञापनदाताहरू जो यसअघि नै आफ्नो कारोबार रोकेर स्थितिको मूल्यांकन गरिरहेका छन्, उनीहरूका लागि फर्जी खाता ठूलो झट्का हुन सक्दछ ।

ट्वीटरले हालै आफ्नो प्लाटर्फममा ब्लु टिक फिचरका लागि प्रयोगकर्ताबाट ८ अमेरिकी डलर असुली गर्ने निर्णय गरेको थियो । उक्त शुल्कको बदलामा कम्पनीले प्रयोगकर्तालाई विभिन्न एक्सक्लूसिभ फिचर उपलब्ध गराउने पनि बताएका थियो । तर, पैसा तिरेर ब्लु टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग भएका समाचार आउन थाले । ट्वीटरले पनि आफ्नो एल्गोरिदमका माध्यमबाट गलत मानिसहरुको पहिचान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्