Logo
Logo

कर्णाली प्रदेश : ग्रिन जोनमा गठबन्धन

स्थनीय निर्वाचनको मतभारको आधारमा ८ क्षेत्रमा गठबन्धनको जीत सुनिश्चित



काठमाडौं । कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभाका १२ क्षेत्रमध्ये ८ क्षेत्रमा सत्ता गठबन्धन बलियो देखिएको छ । कर्णाली प्रदेशका दैलेख र सुर्खेत दुई दुई निर्वाचन क्षेत्र छन् भने बाँकी ८ जिल्लामा एक एक निर्वाचन क्षेत्र छन् । १० जिल्लाका १२ मध्ये ८ निर्वाचन क्षेत्रमा गठबन्धन सुरक्षित देखिएको हो ।

सल्यान, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, हुम्ला, डोल्पा, सुर्खेत–१ र मुगुमा गठबन्धन बलियो देखिन्छ । गठबन्धनका उम्मेदवारहरूको अवस्था, स्थानीय चुनावको परिणाम, अघिल्लो चुनावमा दलहरुले प्राप्त गरेको मतपरिणामलाई हेर्दा यी ८ क्षेत्रमा गठबन्धन ग्रिनजोनमा छ ।

अघिल्लो निर्वाचन अर्था २०७४ मा नेकपा एमाले र माओवादी गठबन्धनले १२ वटै सिट जितेको थियो । तर, यस पटक राजनीतिक कोर्ष फेरिएको छ । त्यसैले यसपटक गठबन्धनले १२ मा १२ क्षेत्रमा जित निकाल्न पनि सक्नेछ । तर, केही क्षेत्रमा गठबन्धनको जित सन्देहमा छ ।

एमालेले जाजरकोट, हुम्ला र दैलेख २ आफूले जित्ने सूचीमा राखेको छ । तर, एमालेले अनुमान गरेजस्तो सहज भने छैन । गठबन्धनलाई पनि यी क्षेत्रमा सहज छैन किनकि यी चार क्षेत्रमा गठबन्ध्न र एमालेको कडा प्रतिस्पर्धा देखिन्छ ।

कर्णालीको सल्यानमा गठबन्धनका तर्फबाट नेकपाएकीकृत समाजवादीका प्रकाश ज्वाला उम्मेदवार छन् । उनी एकीकृत समाजवादीका उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज पनि हुन् । यहाँ एमालेबाट राजेन्द्रवीर राज उम्मेदवार छन् । उनी एक्लै चुनावी मैदानमा छन् । एकीकृत समाजवादका ज्वाला गठबन्धनको साझा उम्मेदवार हुन् ।

स्थानीय तहमा कांग्रेसले ३३ हजार ६ सय १६, नेकपा मओवादी केन्द्रले २६ हजार ७ सय १३ र एकीकृत समाजवादीको ९ हजार ४०८ मत पाएको थियो । एमालेले २६ हजार ६ सय २८ मत ल्याएको थियो । त्यसैलाई आधार मान्ने हो भने यहाँ गठबन्धनका उम्मेदवार ज्वाला ग्रिनजोनमा छन् ।

यस्तै, रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा रहेका छन् । यो माओवादी केन्द्रको पकड क्षेत्र मानिन्छ । शर्माको प्रतिस्पर्धी एमालेका नन्दलाल देवकोटा रहेका छन् । यो क्षेत्रमा एमालेभन्दा माओवादी बलियो देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले रुकुम पश्चिममा माओवादीले ३७ हजार १०२ मत पाएको थियो भने कांग्रेसले २६ हजार ६२०, नेकपा एकीकृत समाजवादीले १३० र नेकपा एमालेले ६ हजार १२४ मत ल्याएको छ । यसलाई आधार मान्ने हो भने यो क्षेत्रमा शर्माले ६० प्रतिशतभन्दा बढी मत पाउनेछन् ।

कर्णालीको जाजरकोट पनि माओवादीको पकढ क्षेत्रमा मानिन्छ । यहाँ माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत उम्मेदवार छन् । उनीसँगै प्रतिस्पर्धामा उत्रिएका छन् एमालेका निरजप्रसाद आचार्य ।

गत स्थानीय तह निर्वाचनमा यहाँ वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन बलियो देखिन्छ । यहाँ कांग्रेसका वडाध्यक्षहरुले २२ हजार ३४२, माओवादी केन्द्रले १८ हजार ६२२ र समाजवादीले २ हजार ३३४ मत पाएको छ भने एमालेले २४ हजार ४ मत पाएको थियो ।

यस्तै, कालिकोटमा पनि गठबन्धन बलियो देखिन्छ । कालिकोट पनि माओवादीको गढ मानिन्छ । यस क्षेत्रबाट माओवादी केन्द्रका नेता कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रहादुर शाही उम्मेदवार छन् । एमालेबाट कालीकोट इन्चार्ज नगेन्द्र शाही उम्मेदवार रहेका छन् ।

कालिकोटमा माओवादीकै काशीराम बरालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यहाँ गठबन्धनमा एकीकृत समाजवादीलाई समेटिएको छैन । बागी उम्मेदवार बरालले माओवादी र कांग्रेसको मत काट्ने विश्लेषण एमालेको छ । त्यसैले यहाँ एमालेले आफूलाई बलियो दावी गरिरहेको छ ।

स्थानीय तह निर्वाचनमा यहाँ वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा माओवादी बलियो छ । १८ हजार ३४७ मत माओवादीले पाउँदा कांग्रेसले १२ हजार ८२०, एकीकृत समाजवादीले ३ हजार ५०३ र नेकपा एमालेले १२ हजार ६१३ मत पाएको छ ।

सुर्खेत दुई निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत–१ मा पूर्णबहादुर खड्का र एमालेका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुँदैछ । २०७४ मा झण्डै ३ हजार मतान्तरले शाहीसँग पराजित खड्का गठबन्धनको आडमा यसपटक चुनाव जित्ने बलिया उम्मेदवार हुन् ।

यस्तै, सुर्खेत–२ कांग्रेसका पुराना नेता हृदयराम थानी र एमालेका सुर्खेत जिल्ला अध्यक्ष अमृत बिसीबीच तीव्र प्रतिस्पर्धा छ । थानीले यसअघि पनि पटक पटक चुनाव जितेपनि जनताका पक्षमा काम नगरेको गुनासो मतदाताको छ ।

बिसी पहिलोपटक चुनावमा उठेका हुन् । यही भएर सो क्षेत्रमा थानीप्रति भन्दा बिसीतिर मतदाताले आकर्षण देखाए पनि गठबन्धनको फाइदा थानीले लिने देखिन्छ ।

स्थानीय तहमा वडाअध्यक्षले पाएको मतको आधारमा गठबन्धन अगाडि छ । नेपाली कांग्रेसले २९ हजार ६८७ मत, माओवादी केन्द्रले ११ हजार ६६१ र समाजवादीले १ हजार ६४४ मत ल्याएका छन्। एमालेले ३० हजार ४६९ मत ल्याएको थियो ।

यस्तै, दुई निर्वाचन क्षेत्र रहेको कर्णालीको अर्को जिल्ला हो, दैलेख । दैलेख–१ म एकीकृत समाजवादीबाट कर्णाली प्रदेश अध्यक्षसमेत रहेका अम्मरबहादुर थापा उम्मेदवार रहेका छन् । उनलाई एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा र राप्रपाकी महामन्त्री कुन्ती शाहीले चुनौती दिएका छन् । तर, गठबन्धनको साथले थापा बलियो देखिएका छन् ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा पनि उनी निकै अगाडि छन् । कांग्रेसको १७ हजार ५३९, माओवादी केन्द्रको २ हजार ८२५ र एकीकृत समाजवादीको ३ हजार ४५० मत छ । यहाँ एमालेले १७ हजार ६६५ मत पाएको थियो ।
यस्तै, दैलेख–२ मा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा छ । क्षेत्रमा कांग्रेसका दिक्पाल शाही र एमालेका जिल्ला इञ्चार्जसमेत रहेका लक्ष्मीप्रसाद पोखरेल उम्मेदवार छन् । यहाँ एमालेले बलियो दावी गर्दै आएको छ ।

तर, स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा गठबन्धन बलियो देखिन्छ । कांग्रेसले १८ हजार ६१२ मत पाएको थियो भने माओवादीले ५ हजार ७५५ र समाजवादीले ८३३ मत पाएको थियो । गठबन्धनको मत जोड्दा २५ हजार २०० हुन्छ । तर, एमालेको २१ हजार १६१ मत छ ।

यस्तै, जुम्लामा गठबन्धनबाट माओवादी केन्द्रकी गोमा कुँवर उम्मेदवार छन् । उनी गठबन्धनको तर्फबाट टिकट पाउने कर्णालीकी एकमात्रै महिला उम्मेदवार हुन् ।

यो क्षेत्रम नेकपा एमालेबाट रतननाथ योगी उम्मेदवार छन् । यहाँ ज्ञानेन्द्रबहादुर शाहीले राप्रपाबाट उम्मेदवारी दिएका छन् । यी तीनै जनाको तीव्र प्रतिस्पर्धा देखिएपनि गठबन्धनमा भएको फाइदा कुँवरलाई छ । यो जिल्लामा गत स्थानीय तह निर्वाचनमा कांग्रेसले पाँच पालिका प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो ।

यस्तै, माओवादीले दुईवटा पालिका प्रमुख, चार उपप्रमुख, १९ वडा अध्यक्ष जितेको छ भने एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित छ वडाध्यक्ष जितेको छ । यहाँ एमालेले ६० वडामध्ये ६ वडाध्यक्ष मात्रै जितेको थियो भने राप्रपाले कुनै वडाध्यक्ष जितेको छैन ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले आठ हजार ६ सय ५५, माओवादीको ६ हजार ४ सय ३९ पाएको छ भने एमालेको दुई हजार एक सय ५७ र एकीकृत समाजावादीको एक हजार पाँच सय ९६ मत छ ।

कर्णालीको अर्को जिल्ला हुम्लामा एमालेबाट दल रावल र माओवादीका छिरिङ डम्डोल लामा प्रतिस्पर्धा गर्दैछन् । एमालेले यो क्षेत्र जित्ने दाबी गरेको छ । तर, गठबन्धनको बल, माओवादीको आफ्नै संगठनले डम्डोल बलिया देखिन्छन् । यहाँ स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले ६ हजार ४९३ मत पाएको छ भने कांग्रेसले ४ हजार ७६४ र समाजवादीले ८८८ मत पाएको छ । एमालेको ६ हजार १४७ मत पाएको छ ।

यस्तै, डोल्पामा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा रहेको छ । एमालेका गणेशबहादुर शाही र गठबन्धनको तर्फबाट समाजवादीका केन्द्रीय सदस्य तथा डोल्पा इन्चार्ज धनबहादुर बुढा उम्मेदवार छन् । बुढा निवर्तमान सांसद पनि हुन् ।

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतको अधारमा डोल्पामा माओवादी केन्द्रसँग ४ हजार ८५५, नेपाली कांग्रेससँग ३ हजार ६९ र समाजवादीसँग १ हजार ३३४ मत रहेको छ । एमालेसँग ४ हजार ५४५ मत देखिन्छ ।

यस्तै, मुगुमा कांग्रेसका ऐनबहादुर शाही र एमालेका राजबहादुर कार्की भिड्दैछन् । कांग्रेसका जिल्ला सभापति र एमालेका कर्णाली प्रदेश कमिटी सदस्यबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

एमालेबाट कृष्णबहादुर सेजुवाल र भीमचन्द्र हमालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो कारण एमाले कमजोर अवस्थामा छ । स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामअनुसार एमालेको ९ हजार ८५१, एकीकृत समाजवादीको ५ हजार ६०१, कांग्रेसको ६ हजार १८१ र माओवादी केन्द्रको चार हजार ७७० मत छ । यसलाई आधार मान्दा यहाँ पनि गठबन्धन अगाडि देखिन्छ ।

समग्रमा कर्णाली प्रदेशमा गठबन्धन ग्रिनजोनमा देखिन्छ । १० जिल्लाको १२ निर्वाचन क्षेत्रमध्ये ८ क्षेत्रमा गठबन्धन सुनिश्चित देखिन्छ भने मत तलमाथि भएका १२ वटै क्षेत्रमा गठबन्धनले जित हासिल गर्ने सम्भावना समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्