काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले लाभांश घोषणा गरेका छन् । एक आफूमा गाभिने प्रक्रियामा रहेका यी दुई बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ ।

इन्भेष्टमेन्ट बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजनसहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, मेगा बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैयाँको ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागिसमेत गरी ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । दुवै बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुने जनाइएको छ ।












