Logo
Logo

डलरमा चुनावी प्रचार, फेसबुकमा मात्रै एक करोड स्वाहा 



काठमाडौं । आसन्न निर्वाचनको प्रचारप्रसारमा उम्मेदवारहरूले फेसबुकमा मात्रै एक करोड बढी खर्च गरेका छन् ।

पार्टीका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारहरूले पछिल्लो एक महिनामा अमेरिकी डलर ८० हजार २८० अर्थात एक करोड चार लाख ६९ हजार ५ सय ७९ रुपैयाँ फेसबुकको विज्ञापनमा खर्च गरेका हुन् ।  

फेसबुकमा विज्ञापन गर्ने पहिलो नम्बरमा श्री गुरुङ रहेका छन् । उनले ४ लाख ६२ हजार ४४५ रुपैयाँको प्रचार गरेका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार हुन् ।

गुरुङ पेशाले व्यवसायी हुन् । पत्रकारितामा पिएचडी अध्ययनरत गुरुङले नेपालमा पर्यटनको विकास र विस्तार गरि पर्यटन व्यवसायबाट बेरोजगारी समस्या समाधान गर्ने र नेपाललाई आत्मनिर्भर बनाउने एजेण्डा लिएका छन् ।  

त्यसैगरी फेसबुक प्रचारका लागि ठूलो रकम खर्च गर्नेमा डा. सुरेश बस्नेत रहेका छन् । नेपाली पार्टीको भोजपुरका उम्मेदवार बस्नेतले २ लाख ७९ हजार ६०६ रुपैयाँ खर्च गरेर फेसबुकमा निर्वाचनको प्रचार गरेका छन् । 

त्यस्तै फेसबुकमा पैसा तिरेर निर्वाचन प्रचार गर्नेको तेस्रो नम्बरमा नेकपा एमाले काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार किरण पौडेल रहेका छन् । उनले फेसबुक विज्ञापनको लागि २ लाख १२ हजार ४४३ रुपैयाँ खर्च गरेका छन् ।

निर्वाचित भएर काठमाडौँलाई जीवन्त सहर बनाउने उनको प्रतिबद्धता रहेको छ ।  काठमाडौंको खानेपानी, डुबान र ढलको समस्या समाधान गर्ने उनको मुख्य एजेण्डा रहेको छ । उनले सत्ता गठबन्धनका बलियो उम्मेदवार प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्दैछन् ।   

फेसबुकमा पैसा तिरेर निर्वाचन प्रचार प्रसार गर्नेमा काठमाडौं– ५ का स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठ पनि अग्रपङ्तिमा रहेका छन् । उनले १ लाख ९२ हजार ४९० रुपैयाँ खर्च गरेर चुनावी प्रचार गरेका छन् ।  

कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले १ लाख ५० हजार ६२७ रुपैयाँ खर्च गरेर फेसबुकमा आफ्नो उम्मेदवारीको प्रचारप्रसार गरेका छन् । एमालेका हेभिवेट नेता ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गरेका उनले फेसबुकमा राम्रै खर्च गरेर प्रचार गरिरहेका छन् । 

यसैगरी फेसबुकमा मोटो रकम खर्चेर चुनावी प्रचारप्रसार गर्नेमा जगन्नाथ लामिछाने पनि अगाडि नै छन् ।  उनी काठमाडौं क्षेत्र नं ५ को (ख)का स्वतन्त्र उम्मेदवार हुन् । उनले फेसबुकमा प्रचारका लागि १ लाख ४६ हजार ८४५ रुपैयाँ खर्च गरेका छन् ।

डलर खर्च गरेर चुनावी प्रचार गर्ने उम्मेदवारमा सोमप्रसाद पाण्डे पनि रहेका छन् । पाल्पा क्षेत्र नं २ बाट  एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका उनले १ लाख ३४ हजार ६४ रुपैयाँ खर्च गरेका छन् ।  

निर्वाचन प्रचारप्रसारका लागि फेसबुकमा पैसा खर्च गर्ने उम्मेदवारमा सुशान्त श्रेष्ठ पनि रहेका छन् । उनले चुनाव प्रचारका लागि फेसबुकमा १ लाख ३१ हजार ६८७ रुपैयाँ खर्च गरेका छन् । उनी काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

त्यस्तै काठमाडौं क्षेत्र नं ७ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले पनि १ लाख २१ हजार ९०६ रुपैयाँ खर्च गरेर फेसबुकमा चुनावी प्रचार गरेका छन् ।  

यता, राजनीतिको चलाख खेलाडी मानिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि फेसबुकमा पैसा खर्च गरेर प्रचार गरिरहेका छन् । चुनावी प्रचारका लागि उनले फेसबुकमा १ लाख १३ हजार ६८ रुपैयाँ खर्च गरेका छन् । उनी एमालेको समर्थनसहित सप्तरी क्षेत्र नं २ का उम्मेदवार हुन् ।

उनको मुख्य प्रतिस्पर्धी जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुर रहेको छ । फरक आन्दोलनबाट आएको राउतको क्रेज निकै राम्रो छ भने ठाकुरलाई सत्ता गठबन्धनको साथ छ ।

त्यस्तै काठमाडौं क्षेत्र नं १ का उम्मेदवार रविन्द्र मिश्रले पनि १ लाख नौ हजार ६७७ रुपैयाँ खर्च गरेर फेसबुकमा प्रचार गरेका छन् । विवेकशील साझा पार्टी छोडेर राप्रपा पार्टीबाट निर्वाचनमा होमिएका मिश्रको मुख्य प्रतिस्पर्धा गठबन्धनका उम्मेदवार प्रकाशमान सिंह र नेकपा एमालेका किरण पौडेल रहेका छन् । 

त्यसैगरी विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार रन्जु दर्शनाले पनि फेसबुक मार्फत आफ्नो उम्मेदवारीको प्रचार गरेकी छन् । उनले १ लाख दुई हजार ८९६ रुपैयाँ खर्च गरेर फेसबुकमार्फत निर्वाचन प्रचार गरेका छन् ।  उनको मुख्य प्रतिस्पर्धी कांग्रेसका नेता प्रदिप पौडेल र नेकपा एमालेबाट ईश्वर पोखरेल रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस्