Logo
Logo

पासाङलाई जिताउनुस्, मन्त्री बनाए पठाउँछु : प्रचण्ड


27.6k
Shares

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई ब्युँताउन चाहनेबीचको जनमत सङ्ग्रह भएको बताएका छन् ।

वाम-लोकतान्त्रिक गठबन्धन खोटाङले आज दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्ने एकातिर तथा संविधान उल्ट्याउन र राजतन्त्र ब्युँताउन चाहनेबीचको प्रतिस्पर्धा भएको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री दाहालले आगामी निर्वाचनमा देशभर सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको पक्षमा जनलहर देखा परिसकेकाले राजतन्त्रलाई ब्युँताउन चाहनेको अभिष्ट पूरा नहुने दाबी गरे । ‘देशभर भएका कार्यक्रममा जनताको अपार उपस्थितिले सत्ता गठबन्धनका उम्मेदवारको विजयलाई सुनिश्चित गरिसकेको छ’, उनले भने, ‘खोटाङको विकास र समृद्धि तथा जिल्लाको नेतृत्वको निम्ति, पार्टी, गठबन्धन र सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दछु ।’

छिमेकी जिल्ला भोजपुर हुँदै हेलिकप्टरबाट खोटाङ आएका पूर्वप्रधानमन्त्री दाहालले प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई ‘पासाङ’ केन्द्रको मन्त्री बन्ने सम्भावना रहेको बताए । ‘रामकुमार राई प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उहाँ अहिले १ नं प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीसमेत हुनुहुन्छ । तपाईहरूले विजय गराउनुभयो भने केन्द्रको मन्त्री हुने पूरै सम्भावना छ’, उनले भने, ‘तपाईहरुको विकास र समृद्धिको आकांक्षाप्रति प्रतिबद्ध हुँदै र यो गठबन्धनलाई जिताएर प्रतिगमनलाई सदाका लागि हराउनुपर्छ । राजनीतिक स्थायित्व र विकासको नयाँ युगतिर देशलाई लानुछ । यसमा तपाईहरुको सहयोग आवश्यक छ ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले खोटाङका प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलले बनाउने आश्वासन दिएका छन् । ‘नेकपा (एमाले)का अध्यक्ष ओली जी कुरा मात्र गर्नुहुन्छ । काम गर्नुहुन्न, त्यसैले खोटाङमा सबै वडामा बाह्रै महिना चल्ने सडक निर्माणको काम गठबन्धन सरकारले गर्नेछ’, उनले भने, ‘गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान पनि सत्ता गठबन्धनले नै गर्ने भएकाले गठबन्धनका उम्मेदवारलाई मत दिएर अत्यधिक बहुमतले विजयी थराउनुहोस् । केन्द्रबाट उचित व्यवस्थापन हुन्छ ।’

प्रवक्ता डा महतले आसन्न निर्वाचनमा एउटाले अर्कालाई सहयोग गर्न गठबन्धन बनेको बताएका छन् । ‘आसन्न निर्वाचनमा पार्टीलाई समानुपातिकमा मत दिन हामी सबै जान्छौँ । सोही बेला गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षतर्फ मत दिएर एकअर्कालाई सहयोग गरौँ’, उनले भने, ‘अर्को जिल्लामा उसले अर्कोलाई सहयोग गर्नेछ । गठबन्धन भनेको नै एकले अर्कोलाई सहयोग गर्न बनेको हो ।’

प्रतिक्रिया दिनुहोस्