Logo
Logo
सुदूरपश्चिम

१ हजार १ सय ६१ मतदानस्थलमा २५ हजार सुरक्षाकर्मी



सुदूरपश्चिम । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका मतदानका लागि सबै तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिएका छन् ।

मतदान स्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितका टोली खटिएको छ ।
निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा २५ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले जानकारी दिएका छन् ।

उनका अनुसार ६ हजार ४१० जना जनपद प्रहरी, ११ हजार ५५९ म्यादी परिचालन भएका छन् भने त्यतिकै संख्यामा शसस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ ।

सुदूरपश्चिममा प्रदेशका नौ वटा जिल्लामा १७७ वटा मोबाइल टोली र २० वटा ‘रिजर्भ फोर्स’ तयारी अवस्थामा राखिएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशभर १ हजार १ सय ६१ वटा मतदानस्थल बनाइएको छ । तीमध्ये सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार ४०५ मतदानस्थल सामान्य, ४०४ संवेदनशील र ३५२ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ ।

विगतको निर्वाचनको अनुभव, अहिले सुरक्षा अवस्था र भौगोलिक विकटताले प्रदेशको पहाडी क्षेत्रका जिल्ला बझाङ, बाजुरा, बैतडी र दार्चुलाका केही स्थानलाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।

सुदूरपश्चिममा प्रतिनिधिसभातर्फ १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेका छन् । यहाँ कूल १६ लाख ५६ हजार ४ जना मतदाताले मतदान गर्न पाउनेछन् ।

प्रतिनिधिसभाका सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता रहेका छन् भने सबैभन्दा कम बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता छन् ।

बझाङमा १ लाख २२ हजार ३ सय ७६ मतदाता रहेका छन् । प्रतिनिधिसभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा ३ लाख २ हजार ५०९ मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र अछाममा २, डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला र डडेलधुरामा एक÷एक निर्वाचन क्षेत्र छन् ।

प्रतिक्रिया दिनुहोस्