Logo
Logo

एकीकृत समाजवादीका १० नेता, जो एमालेलाई भारी मतले पराजित गर्दै सांसद बने



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म ११६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । ११६ क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एकीकृत समाजवादी १० क्षेत्रमा निर्वाचित भएको छ ।

नेकपा एमालेबाट विभाजन भई गठन भएको एकीकृत समाजवादी पहिलोपटक संसदीय निर्वाचनमा उत्रिएको हो । यसअघि गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादीलगायत वाम लोकतान्त्रिक गठबन्धन गरेर चुनाव लगेको थियो ।

तत्कालीन नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालको अध्यक्षता नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको छोटो समयमै स्थानीय तह निर्वाचनमा होमिनु परेको थियो । तैपनि स्थानीय तह निर्वाचनको परिणाम एकीकृत समाजवादीका लागि उत्साहजनक बन्यो ।

त्यही वाम लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा होमिएको एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ हालसम्म १० क्षेत्रमा जित हासिल गरेको हाे ।

एकीकृत समाजवादीका तर्फबाट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका माधव नेपाल रौतहट–१ बाट भारी मतले विजयी भए । अध्यक्ष नेपालले ३३ हजार ५२२ मतले विजयी हासिल गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ता २६ हजार ९२२ मतमा रोकिए ।

यस्तै, एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्य एवं वर्तमान गठबन्धन सरकारको सहरी विकासमन्त्री मेटमणि चौधरीले दाङ–१ बाट जित हासिल गरेका छन् । उनी पनि आफ्ना प्रतिस्पस्र्धी एमालेकी शान्ता चौधरीलाई भारी मतले पछि पार्दै जित हासिल गरेका हुन् । मेटमणिले २६ हजार ५६३ मत ल्याएर विजयी हुँदा शान्ताले २१ हजार ४७९ मत पाइन् ।

यस्तै, अछामबाट एकीकृत समाजवादीका नेृता शेरबहादुर कुँवर पनि भारी मतले विजयी भए । उनका प्रतिस्पर्धी एमालेका झपट बोहोरालाई चार हजारभन्दा बढी मतले पछि पार्दै कुँवर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । कुँवरले १९ हजार ५३४ मत पाउँदा एमालेका बोहोराले १५ हजार ४५ मत पाएका थिए ।

यस्तै, बारा–४ एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । उनले पनि एमालेका एकवाल मियाँलाई भारी मतले पराजित गर्दै विजयी हासिल गरेका हुन् । श्रेष्ठले २० हजार २९७ मत ल्याउँदा एमालेका मियाँले १३ हजार ८६३ मत पाए ।

यस्तै, बझाङबाट एकीकृत समाजवादीका नेता भानुभक्त जोशी विजयी भए । उनले एमालेका नेता ऐनबहादुर महरलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । जोशीले २८ हजार ४१३ मत ल्याएर विजयी हुँदा एमालेका महरले २७ हजार ४१२ मत पाए ।

यसैगरी दैलेख–१ बाट एकीकृत समाजवादीका अमरबहादुर थापाले जित हासिल गरेका छन् । उनले पनि एमाले नेता रविन्द्र शर्मालाई पराजित गर्दै विजयी हासिल गरेका हुन् । यहाँ थापाले १८ हजार २९७ मत ल्याएर विजयी हुँदा एमालेका शर्मा १७ हजार ४४५ मतमा रोकिए ।

यस्तै, एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आले डोटीबाट निर्वाचिच भएका छन् । आलेले एमालेका नेता गौरीकुमार वलीलाई भारी मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् । आलेले २७ हजार २१० मत ल्याएर विजयी हुँदा एमालेकी गौरीले २३ हजार ४ मत पाइन् ।

यस्तै, सल्यानबाट एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला विजयी भए । उनले स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई भारी मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । ज्वालाले ३७ हजार ७०० मत पाए भने शाह १९ हजार ७८९ मत पाए ।

यस्तै, डोल्पाबाट धनबहादुर बुढा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । बुढाले एमालेका नेता गणेशबहादुर शाहीलाई दोब्बर मतले पराजित गर्दै जित हासिल गरेका हुन् । एकीकृत समाजवादीका बुढाले ११ हजार २२५ मत पाउँदा एमालेका शाहीले ५ हजार ४९८ मत पाए ।

यस्तै, धादिङ–१ बाट एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे प्रतिनिधिसभा सदस्यमा भारी मतले निर्वाचित भएका छन् ।
यहाँ एकीकृत समाजवादीका पाण्डेले ३५ हजार ९३४ मतसहित विजयी हुँदा एमालेका भूमिप्रसाल त्रिपाठीले २७ हजार ९५३ मतमा रोकिए ।
नेकपा एकीकृत समाजवादी

(१) अछाम १ – शेरबहादुर कुँवर

(२) बारा ४ – कृष्णकुमार श्रेष्ठ

(३) बझाङ – भानुभक्त जोशी

(४) दैलेख १ – अमरबहादुर थापा

(५) डोटी – प्रेम आले

(६) सल्यान – प्रकाश ज्वाला

(७) रौतहट १ – माधवकुमार नेपाल

(८) डोल्पा – धनबहादुर बुढा

(९) धादिङ १– राजेन्द्र पाण्डे

(१०) दाङ १ – मेटमणि चौधरी

प्रतिक्रिया दिनुहोस्