Logo
Logo

गोकुल बास्कोटाले जितेपछि काभ्रे कांग्रेसमा भाँडभैलो


36.9k
Shares

काठमाडौं । काभ्रेपलाञ्चोक २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका शिव हुमागाईं पराजित भएपछि कांग्रेसभित्र भाँडभैलो भएको छ ।

काभ्रे– २ मा एमालेका गोकुल बास्कोटा निर्वाचित भएका थिए । शुक्रबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बास्कोटासँग गुमागाई ५ हजार ८६३ मतान्तरले पराजित भएका छन् । बास्कोटाले ४५ हजार ३४५ मत पाएका छन् भने हुमागाईले ३९ हजार ४८२ मत पाएका छन् ।

हुमागाई पराजित भएसँगै उनीमाथि अन्तर्घात भएको भन्दै कांग्रेसका नेता कार्यकर्ताले आक्रोश पोखेका हुन् । केहीले राजीनामा समेत दिइसकेका छन् । वडा कार्यसमिति बैठक नै बसेर दोषीमाथि कारबाही नभएसम्म निष्क्रिय बस्ने लिखित निर्णय गरेका छन् ।

आफ्नै पार्टीभित्रको असहयोगले निर्वाचनमा पराजय भोग्नु परेको कांग्रेस नेता कार्यकर्ता बताउँछन् । हुमाईंले मतदातालाई धन्यवाद दिँदै आफ्नै पार्टीभित्र र बाहिरबाट चौतर्फी घेराबन्दीको सामना गर्नु परेको गुनासो गरेका छन् ।

अन्तिम मतपरिणाम सार्वजनिक भएपछि शुक्रबार धुलिखेलमा पत्रकार सम्मेलन गरेर हुमागाईंले आफूले निर्वाचन हार्नुमा मतदाताको कुनै दोष नभएको भन्दै मतदातालाई घरघरमा नै पुगेर धन्यवाद दिने बताए ।

उनले अस्वस्थ समीकरणका कारण मात्रै परिणाम निकाल्न नसकेको दाबी गरे । उनले भने, ‘उम्मेदवार हुँदा निर्वाचनको क्रममा आफ्नै पार्टी भित्र र बाहिरको चौतर्फी घेराबन्दी र चक्रव्यूहमा अन्तिमसम्म लड्दै गर्दा कति पनि विचलित नभई काभ्रेली जनताको स्वाभिमान कायम राख्नका खातिर आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु ।’

हुमागाईंको हारप्रति असन्तुष्टि जनाउँदै देउपुर मण्डन वडा नम्बर १ वडा कार्यसमितिले अन्तरघातीका कारण लोकतान्त्रिक आर्दशमा बाच्ने कांग्रेस कार्यकर्ताको मुटुमा कुल्चिएको आभास भएको निष्कर्ष निकालेको छ । वडा सभापति सुमन तामाङको अध्यक्षतमा बसेकोे बैठकले निर्वाचन हराउन लाग्नेप्रति कारबाही नहुञ्जेल निष्क्रिय रहने निर्णय गरेको छ ।

त्यस्तै बागमती प्रदेश प्रतिनिधिसमेत भएका नेता केशवप्रसाद तिमिल्सिनाले क्षेत्रीय सभापति महेश खरेलले अन्तरघात गरेको दाबी गर्दै उनीमाथि कारबाहीको काग गरेका छन् । तिमिल्सिनाले उनीमाथि कारबाहीको माग गर्दै राजीनामा दिएका छन् ।

उनको राजीनामा पत्रमा भनिएको छ, ‘आसन्न निर्वाचनमामा पार्टीतर्फबाट प्रस्तुत उम्मेदवार र पार्टीलाई गरेको घातका सम्बन्धमा नेका केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिका बारेमा सुनियो र बुझियो । यो कुराको निर्क्योल नभएसम्मका लागि नेपाली कांग्रेसको विभिन्न पदमा बसेर काम गर्न नसकिने निष्कर्षमा पुगेकाले आजैका मितिबाट सबै पदबाट राजीनामा दिएको छु ।’

प्रतिक्रिया दिनुहोस्