Logo
Logo

लुपस रोग पिडित मुना राईका लागि ५ लाख ८ हजार हस्तान्तरण



काठमाडौं । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर २ निवासी लुपस रोग पिडित मुना राईका लागि ५ लाख ८ हजार ७५६ रुपैयाँ सहयोग संकलन भएको छ ।

‘मुना राई बचाउ अभियान’ बाट संकलन भएको रकम मंसिर ९ गते भविन राई, मिना राई, जीबन मगर र प्रदिप राईले मुना र उनका आफन्तलाई हस्तान्तरण गरेका हुन् । लामो समयदेखि लुपस रोगबाट पिडित पर्शुराम राईको छोरी मुना काठमाडौं स्थित पाटन अस्पतालमा उपचारत छन् ।

लुपस रोगका पिडित मुना घरको आर्थिक अवस्था कम्जोरका कारण उपचार गर्न नसकी घरमै थलिएर बस्नु परेको खबर पाउना साथ उनको उपचारको लागि आर्थिक सहयोग अभियान चलाएको भविन राईले जानकारी दिए ।

संकलन भएको रकम मध्ये १ लाख ६६ हजार ४४३ रुपैयाँ बिरामिको उपचारमा खर्च भएको र बाँकी रकम ३ लाख ४२ हजार ३१३ रुपैयाँ बिरामी र बिरामिलाई निगरानी गर्ने ब्यक्तिको रेखदेखमा रहने गरि हस्तान्तरण गरेको राईले जानकारी दिए ।

उक्त रकम बिरामिको उपचार निरन्तर ६ महिनासम्म गरिरहनु पर्ने र सधैंभरी औषधि खाईरहनु पर्ने भएकाले अहिलेलाई बिरामी र उनलाई निगरानी गर्ने ब्यक्तिको नाममै रहने समाजसेवी तथा ‘मुना राई बचाउ अभियान’ का अभियन्ता प्रकाश बन्जारा ‘सहयात्री’ले जानकारी दिए ।

अभियन्ता केदार आले मगरले ‘मुना राई बचाउ अभियान’लाई साथ दिएर विभिन्न माध्यमबाट फोन गरी सहयोग गर्नुहुने र देश, विदेशमा रहेका नेपालीहरुले मुना राईको स्वास्थ्य लाभको कामना गर्दै सहयोग गरेका सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिएका छन् ।

उनको स्वास्थ्यमा पहिलाभन्दा अहिले धेरै सुधार आएको छ । अहिले आफैं खाना खाने, हिड्डुल गर्न सक्ने भएका छन् । यस अभियानमा भविन राई, केदार आले मगर, प्रकाश बन्जारा ‘सहयात्री’, ध्यानकुमार राईलगायतको विशेष भूमिका रहेको छ ।

केदार आले मगरको नेतृत्वमा १ लाख ९ हजार ४२६ र राम कुमार राई नेतृत्वमा ३९ हजार १५४ गरी जम्मा कुवेतबाट १ लाख ५१ हजार ६९४ रुपैयाँ संकनल भएको केदार आलेले जानकारी दिए ।

यस अभियानकर्ताहरुले यसअघि पनि देश विदेशमा छरिएर रहेका साथीभाईहरुसंग अन्य आर्थिक कम्जोर भएका परिवारहरुलाई आर्थिक जुटाएर सहयोग गरिसकेका छन् । पटक-पटक यस्ता सहयोग अभियान चलाइरहेका उनीहरुले आर्थिक कम्जोर भएका परिवारहरुको लागि सहारा बन्दै आएका छन् ।

केहि महिना अगाडी यस अभियन्ताहरुले बराहपोखरी गाउँपालिका वडा नम्बर २ निवासी क्यान्सर पिडित डम्बर कुमारी श्रेष्ठका लागि पाँच लाख, ७३ हजार ८६ रुपैयाँ संकलन गरि सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्