Logo
Logo

पाँच दलीय गठबन्धनलाई सरकार बनाउने जनादेश



वाम-लोकतान्त्रिक गठबन्धन र एमाले-राप्रपा गठबन्धनबीच आगामी संसद्मा आमनेसामने हुने भएको छ । सत्तारुढ गठबन्धन जुन उद्देश्यले बनेको थियो, त्यो उद्देश्य पूरा गर्न पनि वाम–लोकतान्त्रिक गठबन्धन अझै बलियो हुनुपर्ने निर्वाचन परिणामले देखाएको छ ।

पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा जुन मत परिणाम ल्याएको थियो, त्यसलाई विश्लेषण गर्दा पाँच दलीय गठबन्धन अझै बलियो हुनुपर्ने थियो । तर, प्रतिनिधिसभामा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी बलियो भएर देखापरे । यसो हुनुमा पाँचदलीय गठबन्धनबीच स्थानीय तह निर्वाचनमा जस्तो बलियो सहकार्य नुहुन नै हो ।

अबको पाँच वर्षसम्म यिनै दलहरू सत्ता र प्रतिपक्षमा बस्ने हुँदा प्रतिपक्षमा बस्ने जनादेश पाएको दलहरूलाई कुनै पनि हालतमा झ्यालबाट सत्तामा पुग्ने गल्ती वाम-लोकतान्त्रिक दलहरुले गर्नु हुँदैन ।

पुस ५ गते दुईतिहाइको सरकार जुन उद्देश्यले ढालिएको थियो, त्यो उद्देश्य पूरा भएको छैन । त्यो उद्देश्य पूरा गर्न गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा एमाले, राप्रपाबीच गठबन्धन भएकोले वर्तमान संविधानमाथि हिजोभन्दा आज खतरा बढेको छ । एमाले, राप्रपा गठबन्धनको एउटै उद्देश्य यो संविधान ध्वस्त बनाउनु हो ।

मतपरिणामले पाँचदलीय गठबन्धनलाई सरकार बनाउने जनादेश दिएको छ । जनादेशलाई टेकेर नयाँ सरकार बनाउनु बुद्धिमानी हुनेछ । प्रधानमन्त्री ठूलो कुरा होइन, जुन उद्देश्यले गठबन्धन गरिएको हो, त्यसको अनुभूति मतदातालाई गराउनुपर्छ । अन्यथा, देश दुर्घटनामा जान सक्छ ।

राप्रपाको घोषणापत्रमै हिन्दू राज्य र संवैधानिक राजतन्त्रको कुरा त्यत्तिकै उठाइएको होइन । हिजो सडकबाट राप्रपाले आफ्नो एजेण्डा उठाएको थियो भने, अब त्यो एजेण्डा संसद्मा उठाउने पक्का छ । त्यतिबेला एमालेको भूमिका कस्तो हुन्छ त्यो पनि हेर्न बाँकी नै छ ।

त्यसपछि पाँचदलीय गठन्धन र एमाले-राप्रपाबीच संसद्मै भिडन्तको अवस्था आउन सक्छ । यस्तो बेला पाँचदलीय गठबन्धन भत्काउने षड्न्त्र सुरु नहोला भन्न सकिन्न । त्यस्तो अवस्थामा मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिन सक्छ । पाँचदलीय गठबन्धनभित्रै फाटो आउन सक्छ । त्यसप्रति पाँचदलीय गठबन्धनका नेताहरु अहिलेदेखि सचेत हुनुपर्छ ।

देशलाई अस्थिरताको भूँमरीमा फसाउने एमाले अध्यक्ष ओली स्वयं हुन् । संसदमा उनको रचनात्मक होइन, ध्वंशात्मक भूमिका हुने कुरामा दुईमत छैन । त्यसको संकेत उनले गरिसकेका छन् ।

जुन शक्तिले दुईतिहाइको कम्युनिष्ट सरकार भंग गर्ने षड्यन्त्र गर्यो, त्यो शक्ति नेपालको राजनीतिमा हाबी भएको छ । एमाले अध्यक्ष ओलीलाई प्रयोग गरेर यो संविधान र त्यसको उपलब्धि ध्वस्त पार्न खोज्ने तत्वहरु सफल भएमा पाँच वर्षभित्र देश द्वन्द्वमा जाने खतरा पनि छ । निर्वाचन परिणम नआउँदै विदेशी चलखेल बढ्न थालेको छ । त्यसलाई सन्तुलन मिलाएर जानुपर्ने चुनौती पनि सत्तारुढ दल सामु छ ।

निर्वाचन परिणामले पाँचदलीय गठबन्धनलाई सरकार बनाउने जनादेश दिएको छ । त्यही जनादेशलाई टेकेर नयाँ सरकार बनाउनु बुद्धिमानी हुनेछ । को प्रधानमन्त्री हुने ? त्यो ठूलो कुरा होइन । नयाँ पुराना जस्तो अनुहार प्रधानमन्त्री भए पनि उनीहरुको जिम्मेवारी पाँच वर्षभित्र मुलुकलाई आर्थिक समृद्धितर्फ डोहोर्याउने र सुशासन कायम गर्नु हुनेछ । त्यसका लागि पाँचदलीय गठबन्धनका नेताहरुले आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ र जुन उद्देश्यले गठबन्धन गरिएको हो, त्यसको अनुभूतिसमेत मतदातालाई गराउनुपर्छ । अन्यथा, देश दुर्घटनामा जान सक्छ ।

प्रतिक्रिया दिनुहोस्