Logo
Logo

माघे संक्रान्ति (माघी) को रौनक



बुटवल । थारु समुदायको बाहुल्य रहेको रुपन्देहीमा माघे संक्रान्ति (माघी) को रौनक देखिएको छ । थारु वेषभूषामा रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा थारु महोत्सवको आयोजना गरी थारु, संस्कृतिको जर्गेना गरिने भएको छ ।


महोत्सवमा थारु खानाको रुपमा रहेको माछा, बङ्गुरको मासु, घोङी, ढिकुरीलगायत थारु समुदायका परिकार विभिन्न कक्षमा राखिएको थारु अगुवा खुशीराम चौधरीले बताउनुभयो । ‘‘माघी थारु समुदायको नयाँ वर्ष भएकाले हर्षोल्लासका साथ परम्परागत रुपमा मनाइन्छ’’ चौधरीले भन्नुभयो ।
उहाँका अनुसार उक्त दिन नयाँ आर्थिक वर्षको जस्तै पुराना हिसाब मिलाउने, हरुवाचरुवाको नयाँ वा पुरानो हिसाब मिलाउने र केही दिन खानपिन गरेर नयाँ कामको शुरुआत गर्ने चलन छ । उक्त दिन घरघरमा थारु समुदायका चेलीबेटी बोलाएर उनीहरुलाई खानपिन गराएर दक्षिणासमेत दिने चलन रहेको जानकारी दिँदै अगुवा चौधरीले यो पर्व परम्परागत पर्वको रुपमा मानिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो पर्वमा बङ्गुरको मासु, माछा, रक्सी र खिचडी खाने हो ।’
तीन दिनसम्म चल्ने सो महोत्सवमा थारु संस्कृतिसँग सम्बन्धित झुमरा नाच, लठ्ठी नाच प्रदर्शन हुनुका साथै थारु परिकार खान पाइन्छ । महोत्सवका लागि सैनामैना नगरपालिकाले रु दुई लाख बजेट छुट्ट्याइएको छ ।
सैनामैना नगरपालिका–५ का चन्द्रमान चौधरीले विगतमा भन्दा माघीलाई प्राथमिकताका साथ मनाउन थालिएको जानकारी दिँदै यसबाट थारु संस्कृतिको स्मरण हुने र अन्य समुदायलाई समेत संस्कृतिबारे जानकारी लिन सहयोग मिल्ने बताउनुभयो । माघको औंसीमा पनि सैनामैनाको भडछीमा थारु समुदायको माघी मेला लाग्छ । सो मेलामा स्नान गरी व्रत बस्नाले रोगब्याधि नलाग्ने र सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्