Logo
Logo

प्रदेश १ मा एमालेको सरकार बन्ने सम्भावना कति ?



काठमाडौं । आम निर्वाचन २०७९ को मत परिणाम आउने क्रम अन्तिम चरणमा पुग्दा प्रदेश–१ मा सरकार गठनको चर्चा सुरु भएको छ । ५६ वटा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ ।

त्यहाँ एमाले–राप्रपा–जसपाको गठबन्धनले प्रत्यक्षतर्फ २७ सिट जितेको छ । यता समानुपातिकतर्फ पनि एमाले पहिलो नम्बरमा छ । कूल सदर १७ लाख १५ हजार ५०७ मत गणना हुँदा एमालेले ५ लाख ९९ हजार ९५९ मत पाएको छ ।

यता सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा २९ सिट जितेको छ । प्रदेशमा सरकार गठनका लागि ४७ सिट चाहिन्छ ।

९३ सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ २ सिटको अन्तर भएपनि समानुपातिक तर्फको मतमा देखिएको अग्रताले एमाले–राप्रपा–जसपाको गठबन्धनले बहुमत पाउने देखिन्छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ५ लाख ३ हजार १६३, राप्रपाले तेस्रो स्थानमा १ लाख ८२ हजार ९०९ मत पाएको छ ।

चौथो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख ६८ हजार ७३४, जसपाले ५५ हजार ३१७ र नेकपा एसले ५० हजार ८७५ मत पाएको छ । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ३६ मत पाएको छ । अन्य पार्टीहरुले भने थ्रेस होल्ड कटाएका छैनन् ।

अहिलेको समानुपातिक मतप्रतिशतको आधारमा नेकपा एमालेले १४, नेपाली काँग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४ वटा, जसपाले १, नेकपा एसले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ वटा सिट पाउने देखिन्छ । त्यही आधारमा अन्तिम नतिजा आए एमाले, राप्रपा र जसपाको गठबन्धनलाई समानुपातिक सिट १९ वटा हुन्छ ।

प्रत्यक्षमा २५ सिट रहेको एमाले र २ सिट जितेको राप्रपा तथा सानुपातिकबाट १ सिट पाउने अवस्थामा रहेको जसपाको गठबन्धनले १९ सांसद समानुपातिकबाट थप गरे उसको संख्या ४६ पुग्ने अवस्था छ ।

यता सत्ता गठबन्धनले २९ प्रत्यक्ष र समानुपातिकमा काँग्रेस, माओवादी र नेकपा एसको गरेर १७ सिट थप गर्दै ४६ सिट पुर्याउँछ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले थ्रेस होल्ड कटाएर एउटा सांसद पाउने अवस्था अन्तिमसम्म कायम गरे सत्ताको चावी उसैसँग हुने देखिन्छ ।

को बन्ला मुख्यमन्त्री ?

यो प्रदेशमा सत्ता गठबन्धनबाट वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई, माओवादीका मन्त्री इन्द्रबहादुर आङबो, माओवादीकै जिवन आचार्य, कांग्रेसका अमृतकुमार अर्याल, भीम पराजुली, उद्धव थापा मुख्यमन्त्रीका आकांक्षी छन् ।

वर्तमान सत्ता–गठबन्धनबाटै सरकार बन्ने अवस्था आएमा उनीहरुको बलियो दावी रहनेछ । यता, नेकपा एमालेबाट मुख्यमन्त्री बन्ने अवस्था आए सुनसरी २(क) बाट निर्वाचित रेवतीरमण भण्डारी, झापा ५(क) बाट निर्वाचित हिक्मतकुमार कार्की, ताप्लेजुङ (क) बाट तिलकुमार म्यानेङ्वो मुख्यमन्त्री बन्ने सम्भावना देखिन्छ ।

तर, समानुपातिकबाट दलहरुले पठाउने सांसद र आसन्न राजनीतिक समीकरणले पनि मुख्यमन्त्रीमा नयाँ अनुहार पनि आउन सक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्