Logo
Logo

सुदूरपश्चिममा सत्ता गठबन्धनलाई बहुमत, कसको नेतृत्वमा बन्ला सरकार ?



काठमाडौं । सुदूरपश्चिमको बाजुरा बाहेक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । बाजुराका विभिन्न मतदानकेन्द्रमा बुथ कब्जा गरेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले एक अर्कामाथि आरोप लगाएपछि अहिलेसम्म मतगणना हुन सकेको छैन ।

मतपरिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनबारे चासो बढेको छ । अहिलेसम्म कांग्रेसले ११ ठाउँ जित्दै पहिलो दल बनेको छ । ८ ठाउँमा जितेको नेकपा माओवादी केन्द्र दोस्रो दल बनेको छ भने ५ ठाउँमा जितेको नागरिक उन्मुक्ति पार्टी तेस्रो, ३ क्षेत्र जितेको नेकपा एमाले चौथो र २ क्षेत्र जितेको नेकपा एकीकृत समाजवादी पाँचौं दल बनेको छ । त्यस्तै एक ठाउँमा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेको छ ।

समानुपातिकतर्फको मतगणना भने जारी छ । ८ लाख ३८ हजार मतको गणना सकिँदा एमालेले सबैभन्दा धेरै २ लाख ४३ हजार मत प्राप्त गर्दै पहिलो स्थानमा कायम छ । नेपाली कांग्रेस २ लाख ४३ हजार मतसहित दोस्रो, माओवादी केन्द्र १ लाख १८ हजार मतसहित तेस्रो, ९८ हजार मतसहित नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा छ । राप्रपाले ४३ हजार मत पाउँदा एकीकृत समाजवादीले ४१ हजार मत पाएको छ ।

५३ सदस्यीय प्रदेशसभामा समानुपातिकतर्फको मतपरिणाम नआउँदै प्रदेश सरकार गठनका लागि सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिएको छ । प्रदेश सरकार बनाउन २७ जना सांसद आवश्यक पर्छ ।

३० क्षेत्रको नतिजा सार्वजनिक हुँदा गठबन्धनले २१ सिट जितेको छ । समानुपातिक तर्फको २१ सिटमा पनि गठबन्धनले बहुमत ल्याउने देखिन्छ । यता, बाजुराबाट प्रत्यक्षतर्फको नतिजा पनि आउन नै बाँकी छ । त्यहाँ पनि स्थानीय तहको मतपरिणामलाई नियाल्दा सत्ता गठबन्धन बलियो देखिन्छ ।

समानुपातिकमा सत्ता गठबन्धनले ४५ प्रतिशत बढी मत पाएको छ । प्रदेशसभाको दल बनेका अन्य दलहरूले ४६ प्रतिशत बढी मत पाएका छन् ।

प्रतिनिधिसभामा तीन प्रतिशत कटाउनु परेजस्तै प्रदेशसभाको दल बन्न १ दशमलब ५ प्रतिशत कटाउनुपर्ने हुन्छ । त्यसैले प्रदेशसभा दल नबनेका दलहरूले पाएको मत गनिने छैन । उक्त मतलाई विश्लेषण गर्दा सत्ता गठबन्धनले समानुपातिकबाट कम्तिमा पनि ९ सिट पाउने देखिन्छ । उक्त सिट सरकार गठनको लागि पर्याप्त हो ।

बहुमत आउने भएपछि दलहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी छलफल भइरहेको छ । प्रदेश सरकारमा मुख्य दाबी कांग्रेस र माओवादीले गरिरहेका छन् । दुवै दलका आकाङ्क्षीहरूले मुख्यमन्त्रीका लागि कसरत थालेका छन् । तर, प्रदेश सरकारको नेतृत्व कुन पार्टीले पाउँछ गठबन्धनको भागबन्डापछि मात्र थाहा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्