Logo
Logo

सिके राउत भन्छन्- ‘मधेशमा हाम्रो समर्थनविना सरकार बन्न सक्दैन



काठमाडौं । पहिलोपटक संसदीय निर्वाचनका होमिएको सिके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित भएको छ । राष्ट्रिय दल बनेपनि सरकारमा सहभागी नहुने पार्टीका अध्यक्ष राउतले बताएका छन् ।

देश विखण्डनको मुद्दा छाडेर संसदीय निर्वाचनमा भाग लिएको जनमत पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सीटमा जित हासिल गरेको छ । तर, समानुपातिकतर्फ आफूहरुले पाएको मतका आधारमा जनमत पार्टी राष्ट्रिय दल बन्ने अध्यक्ष राउतको भनाइ छ ।

उनले बीबीसी नेपाली सेवासँग भनेका छन्, ‘राष्ट्रिय दल बनेपनि प्रतिपक्षमा बस्ने वा सरकारमा जानेबारे निर्णय गरिएको छैन ।’ उनले पहिलो– प्रतिपक्षमा बस्ने र दोस्रो– समर्थन गर्ने बताउँदै तेस्रो– सरकारमा जानसक्ने बतएका छन् । उनले बीबीसीसँग भनेका छन्, ‘तर त्यो के गर्दा जनताको अपेक्षा पूरा हुने र भरोसा नटुट्ने अनि हामीले उठाएका माग कुन गठबन्धनले पूरा गर्छ भन्ने कुराले निर्धारण हुन्छ ।’

राउतले आफूहरूको समर्थनविना मधेस प्रदेशमा सरकार बन्ने अवस्था नरहेकाले प्रदेशमा चाहिँ हिस्सेदारीसहित सरकारमा सामेल हुने खुलासा गरेका छन् । ‘प्रदेशमा हाम्रो समर्थनविना सरकार बन्न सक्दैन । यस्तो बाध्यात्मक परिस्थितिमा सकेसम्म लोकतान्त्रिक गठबन्धनतर्फ नै जाने भन्ने हो’ उनले भनेका छन् ।

समानुपातिकतर्फ हालसम्म गणना भएको मतको आधारमा जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित देखिएको निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए । उनका अनुसार हालसम्मको मतगणना अनुसार ७ वटा पार्टीहरू राष्ट्रिय दल बन्ने देखिएको छ । ती सात वटा पार्टीमध्ये जनमत पार्टी पनि परेको छ ।

प्रतिक्रिया दिनुहोस्