
बुटवल । नेकपा माओवादी केन्द्रकी नेत्री एवं दाङ क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको बताएकी छन् ।
बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताएकी हुन् ।
माओवादी केन्द्र गठबन्धनको दोस्रो ठूलो दल भएकाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरूबीच छलफलपछि प्रधानमन्त्रीको टुंगो लाग्ने उनले बताइन् । माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने उनको भनाइ छ ।
पार्टीले दिने जिम्मेवारी आफूले पूरा गर्ने बताउँदै उनले राजनीतिक दलले युवालाई पनि सम्मानजनक रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।











