Logo
Logo
मतगणना अपडेट

सात पार्टी राष्ट्रिय दल बन्ने निश्चित, एकीकृत समाजवादी के हुन्छ ?



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउन अन्तिम चरणमा पुगेको छ । अहिलेसम्मको नतिजाअनुसार ७ पार्टी राष्ट्रिय दल बन्ने निश्चित भएको छ । तर, सत्ता गठबन्धनकै एक प्रमुख दल नेकपा एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न तीन प्रतिशत मत पु¥याउन अझै संघर्षरत छ ।

निर्वाचन आयोगका अनुसार शुक्रबार बिहानसम्मको अवस्थामा समानुपातिकतर्फ १ लाखभन्दा केही बढी मतगणना हुन बाँकी छ । सदर १ करोड ४ लाख आसपासको कुल समानुपातिकतर्फको मतमा झण्डै ३ लाख १५ हजार मत प्राप्त गरेको खण्डमा थ्रेसहोल्ड कट्ने देखिन्छ ।

यस अनुसार एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउने अझै २० हजार मत आवश्यक पर्छ । एकीकृत समाजवादीले शुक्रबार बिहानसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । अहिलेकै अनुपातलाई लिने हो भने पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना क्षीण बनेको छ ।

बिहीबार मतदान र गुणना सुरु भएका तीन जिल्लाका केही मतदानस्थलको मात्र बाँकी छ । सुनसरी र धनुषामा केही रुजु गर्न बाँकी रहेको आयोगले जनाएको छ ।

समानुपातिक तर्फ झन्डै एक करोड ७ लाख मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ । गनिएको समानुपातिक मतमध्ये झन्डै साढे चार लाख मत बदर भएको आयोगले जनाएको छ ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले स्याङजा, दोलखा, बाजुराको प्रत्यक्ष तर्फसहित उदयपुर, धनुषालगायत केही जिल्लाको समानुपातिक मतगणना भइरहेको बताए । शुक्रबार बिहानसम्म आयोगको रेकर्डमा समानुपातिकतर्फ एक करोड ७ लाख मत गनिएको छ ।

त्यसमा चारदेखि साढे चार प्रतिशत बदर मत छ । बदर मतको एकमुष्ट संख्या रेकर्डमै हेर्नुपर्ने हुन्छ । तर बदर मत घटाएर दलले पाएको मत रेकर्डमा समावेश गरिएको उनको भनाइ छ । उनका अनुसार अब सबैतिरको गरेर साढे २ लाख हाराहारी मत गणना गर्न बाँकी छ ।

एमालेले अहिलेसम्म समानुपातिकमा २७ लाख ७३ हजार ९९९ मत पाउँदा दोस्रोमा नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ ।

त्यसैगरी माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१ मत पाएर पाँचौ स्थान बनाएको छ ।

हालसम्म जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर सातौं पार्टी बनेको छ ।

कुनैपनि पार्टीले राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत कटाउनुपर्छ । यो हिसाबमा अहिलेसम्म ३ प्रतिशत मत ल्याएर थ्रेसहोल्ड कटाउने र राष्ट्रिय पार्टी बन्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत गरी सात पार्टी रहेका छन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्रतिनिधि सभाको १६५ मध्ये १६२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । स्याङजा, दोलखा र बाजुराको मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्