Logo
Logo
जम्काभेट

आफ्नो गीत सबै मनपर्छ


विन्दु परियार, गायिका


पाश्र्वगायनमा चर्चित छिन् विन्दु परियार । फिल्मकै गीत गाएर करिअर सुरुवात गरेकी विन्दुले तीन दर्जनभन्दा बढी नेपाली फिल्ममा गाइसकेकी छन् । तीमध्ये एक दर्जनभन्दा बढी गीतहरु ‘सुपरहिट’ छन् । उनी गायन रुचाइएकी गायिका पनि हुन् ।

‘पर्ख पर्ख मायालु’, ‘पहिलो नम्बरमा’, ‘तिमी नै त मायामा’जस्ता चर्चित फिल्मी गीतहरु गाएकी विन्दुले करिब दुई सय गीतमा स्वर दिइसकेकी छन् । गायिका बन्नकै लागि दाङ देउखुरीबाट ०७० सालमा काठमाडौं आएकी विन्दु आफूलाई ‘मेलोडियस गायिका’ भन्न रुचाउँछिन् । उनी भन्छिन्, ‘मलाई मेलोडियस गीतहरु नै सुन्न र गाउन मनपर्छ ।

अहिलेसम्म गाएका गीतहरु पनि मेलोडियस नै छन् ।’ सानैदेखि गायनमा रुची भएपनि २०६९ सालमा आएर स्थानीयस्तरको रियालिटी शो ‘सरयु स्टार’मा विजेता बनेपछि मात्र गीसंगीतलाई करिअरका रुपमा लिने निर्णय गरेको उनको भनाइ छ । उनै मेलोडियस गायिका विन्दु परियारसँग दृष्टिको जम्काभेट-

आजभोलि कतिको व्यस्त हुनुहुन्छ ?
–अहिले खाशै व्यस्त छैन । केही समययता आफ्नो गीतहरु गरेकी छैन । अरुका गीतहरु मात्र गाउँदै आएकी छु । साथै, मेला महोत्सवहरुमा प्रोगामहरु गर्दै आएकी छु ।

फिल्मका गीतहरु गाउँदै हुनुहुन्छ ?
–गाउँदै छु । मैले बढी गाउने भनेकै फिल्मका गीतहरु नै हो ।

अहिलेसम्म कति फिल्ममा गाउनुभयो ?
–खै गनेकै छैन । मैले गाउन सुरु गरेकै फिल्मबाट हो । अहिलेसम्म पुग्यो होला तीन÷चार दर्जन फिल्म । तर, तीमध्ये एक दर्जन जति अत्याधिक हिट भएका छन् ।

तपाइँले गाउनुभएको फिल्मका चर्चित गीतहरु भन्नुपर्दा ?
–चर्चित भएका गीतहरु धेरै नै छन् । त्यसमा पनि अत्याधिक रुचाइएको गीतहरु भनेको ‘पर्ख पर्ख मायालु’, ‘पहिलो नम्बरमा’ र पछिल्लो समय फिल्म ‘छिरिङ’को ‘तिमी नै मायामा’ हुन् । यी गीतहरुले युट्युबमा एक करोडभन्दा बढी भ्युअर्स पाएको छ ।

करिअरको सुरुवातमै कसरी फिल्ममा गाउने अवसर मिल्यो ?
–जब मैले दाङमा स्थानीयस्तरको रियालिटी शोमा विनर भएँ, त्यसपछि मलाई फिल्ममा गाउने अफर आएको हो । दाङकै स्थानीय गाउँको नाममा २०६९ सालमा रियालिटी शो ‘सरयु स्टार’ भएको थियो । त्यसपछि नै मैले गायनलाई औपचारिक रुपमा अँगालेकी हुँ ।

त्यसअघि गाउनु हुन्न थियो ?
–गाउँथेँ तर गीत रेकर्ड गरेको थिएन । विभिन्न कार्यक्रमहरु गाउँदै आएकी थिएँ किनकि मलाई सानैदेखि गाउन रुची लाग्थ्यो । तर, त्यो अवसर मिलेको थिएन । रियालिटी शोमा भाग लिएपछि चाहिँ अवसर आउन थाल्यो ।

तपाइँ काठमाडौं गायिका बन्नकै लागि आउनुभएको हो ?
–काठमाडौं पहिलोपटक नै फिल्मको गीत गाउन आएकी हुँ । फिल्मको गीत गाउने अफर आएपछि २०७० सालमा काठमाडौं आएँ । त्यसपछि फेरि दाङ फर्केर केही महिना बसेपछि पुनः गायिका बन्नकै लागि भनेर काठमाडौं आएँ । त्यसपछि लगातार गाउँदै आएकी छु ।

तपाइँ बढीजस्तो कस्तो गीत गाउन रुचाउँनुहुन्छ ?
-मलाई मेलोडियस गीतहरु नै बढी सुन्न र गाउन रुचाउँछु । अहिलेसम्म जति पनि गाएँ, प्राय सबै रोमान्टिक र मेलोडियस नै छन् ।

तपाइँलाई ‘मेलोडियस गायिका’ भन्दा के भन्नुहुन्छ ?
–मलाई खुसी लाग्छ । म आफूलाई पनि मेलोडियस गायिका नै भन्न रुचाउँछु किनकि त्यो मेरा गीतहरुले पुष्टि गर्छ ।

०७० सालतिर एल्बम निकाल्ने चलन थियो । तपाइँले आफ्नो एल्बम गर्नुभएको छ कि छैन ?
–मैले एल्बम नै त गरिनँ । आफ्नो चाहिँ सिंगल ट्रयाकका गीतहरु गाएँ । तर, अरुका थुप्रै गायक÷गायिकाको एल्बमहरुमा गाएकी छु । त्यो समयमा सिआरबिटीको चलन पनि अत्याधिक बढेको थियो । त्यो बेला मैले गाएका गीतहरु सिआरबिटीमा पनि एकदमै रुचाइएको थियो ।

गीतसंगीतबाहेक अरु के गर्नुहुन्छ ?
–अहिलेसम्म केही गरेकी छैन । फुटटाइमर गायनमै छु । म एक गृहिणी पनि हुन् । त्यसैले परिवारलाई पनि समय दिनुपर्छ । मेरो श्रीमान पनि संगीत क्षेत्रमै हुनुहुन्छ । उहाँ म्युजिक एरेञ्जर हुनुहुन्छ । त्यसैले हामीले संगीतलाई फुटटाइम दिँदै आएका छौँ ।

गाएरै जिविका चल्ने अवस्था आएको हो ?
–अहिलेसम्म त चलिरहेको छ । भविष्यको कुरा थाहा हुन्न । त्यसैले भविष्यलाई भन्दा अहिलेलाई सोचेर काम गर्दै आएकी छु ।

तपाइँ मोडलिङ पनि गर्नुहुन्छ ?
–मलाई मोडलिङमा पनि रुची छ । मैले आफ्नो गीतको भिडियोमा मोडलिङ पनि गरेकी छु । आफूले गाएको गीतको भिडियोमा आफ्नो अनुहार देखाउलाई पनि मोडलिङ गरेकी हुँ ।

अरुले मोडलिङका लागि अफर गरे के गर्नुहुन्छ ?
–त्यो अवस्थाले गर्छ । अहिलेसम्म चाहिँ अरुको गीतमा मोडलिङ गरेको छैन । त्यस्तै अवस्था र समय मिल्यो भने गर्न पनि सक्छु ।

आफैंले गाउनुभएको मनपर्ने तीन गीत भन्नुपर्दा ?
– आफूले गाएका सबै गीत मनपर्छ । उतिकै मिहिनेत गरिएको हुन्छ । त्यसैले मलाई त आफ्ना गीत सबै मनपर्छ ।

प्रतिक्रिया दिनुहोस्