Logo
Logo

तीन विधामा अन्तर्दृष्टि पुरस्कार घोषणा



काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३१औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा शनिबार तीन विधामा अन्तर्दृष्टि पुरस्कार घोषणा गरिएको छ ।

समाजमा विद्यमान अपाङ्गताप्रतिका नकारात्मक, विभेदपूर्ण र पूर्वाग्रही धारणा अनि सोचमा परिवर्तनल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा. कमल लामिछानेद्वारा ०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ ०७९ सालका लागि तीन विधामा घोषणा गरिएको हो ।

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सर्वेक्षणका आधारमा ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको पुरस्का घोषणा समितिले जनाएको छ ।

‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता’ पुरस्कारको निर्णय भने समितिका सदस्यहरू होमनाथ अर्याल, डा. कमल लामिछाने, सुनिता थापा र सरिता लामिछानेको छनोटका आधारमा गरिएको हो ।

यस वर्ष मञ्जु सुवेदीलाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ दिने घोषणा गरिएको छ । अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मञ्जु सुवेदीलाई प्रदान गरिने भएको हो ।

यस्तै, ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ दुर्गादेवी वाइबालाई प्रदान गरिने भएको छ । वाइबा काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् ।

यस्तै, ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ हिमालखबरमा कार्यरत पत्रकार अनिता भेटवाललाई प्रदान गरिने भएको छ । पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण र उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास एवम् समतामूलक समाजको अङ्ग बनाउन भूमिका खेलेबापत भेटवाललाई १० हजार नगदसहित पुस्कृत गर्ने निर्णय गरिएको संयोजक कमल लामिछानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्