Logo
Logo

जो ३० हजार बढी मत पाएर पनि पराजित भए


रासस


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा एमालेका सात, नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत पाएर पनि पराजित हुनु परेको छ ।

प्रदेश नं १ बाट पाँचथर–१ मा नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ८९ मत प्राप्त गरे पनि ४६ मतान्तरले पराजित भए । कांग्रेसकै कृष्णप्रसाद सिटौला झापा–३ मा ३७ हजार तीन सय ८६ मत प्राप्त गर्दा पनि पराजित भए ।

यस्तै, मोरङ–२ मा कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार ९ सय ४०, सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६००, सुनसरी–४ मा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत प्राप्त गरेर पनि पराजित भए ।
त्यस्तै मधेस प्रदेशबाट सर्लाही–३ मा नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार एक सय ६८ र बारा–१ मा कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत पाएर पनि जित्न सकेनन् ।

यस्तै, बागमती प्रदेशमा रामेछाप–१ मा एमालेका कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७ सय ३० मत, काभ्रेपलाञ्चोक–१ मा एमालेका रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत, काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईँले ३९ हजार चार सय ८२ मत, मकवानपुर–२ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ३० हजार ४ सय ३२ मत प्राप्त गरेर पनि पराजित हुनु परेको छ ।

यस्तै, गण्डकी प्रदेशबाट लमजुङ–१ मा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई ३१ हजार ७ सय ९१ मत, नवलपरासी बर्दघाट सुस्तापूर्व–२ मा एमालेका तिलबहादुर महत क्षेत्रीलाई ३४ हजार एक सय १० मत पाएर पनि हार बेहोरे ।

यस्तै लुम्बिनी प्रदेशबाट गुल्मी–१ मा एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार एक सय ५२ मत, अर्घाखाँची–१ मा कांगे्रसकी पुष्पा भुसालले (गौतम) ४० हजार ९ सय ४५ मत, रुपन्देही–३ मा कांगे्रसका बालकृष्ण खाँणले ३४ हजार ३६, कपिलवस्तु–२ मा एमालेका बृजेशकुमार गुप्तले ३८ हजार छ सय ९७ मत, प्यूठान–१ मा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार ८ सय १४ मत प्राप्त गरेर पराजित भए ।

कर्णाली प्रदेशमा सुर्खेत–१ मा एमालेका धुव्रकुमार शाहीलाई ३० हजार नौ सय ८८ मतदान भएर पराजित भए भने सुदूरपश्चिम प्रदेशमा बैतडी–१ मा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ३२ हजार ८० मत पाएर पनि पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्