
काठमाडौं । गृह मन्त्रालयले महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा भारतलाई कूटनीतिक नोट पठाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।
गृहले सोमबार परराष्ट्रलाई पत्र पठाउँदै दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी भारतले महाकाली मिच्दै एकतर्फी तटबन्धन बनाएको र त्यसबाट नदीको धार नेपालतर्फ धकेलिएको विषयमा भारतलाई कुटनीतिक नोट पठाउन भनेको हो ।
नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति र्पुयाउने गृहको पत्रमा उल्लेख छ । गृहले सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुनुपर्ने पत्रमा उल्लेख गरेको छ ।
पटक–पटक सीमा क्षेत्रमा यस्ता घटना दोहोरिरहेकाले कूटनीतिक रूपमा पहल गरी समस्याको दीर्घकालीन समाधान खोज्न गृहले परराष्ट्र मन्त्रालयसमक्ष आग्रह गरेको हो ।
आइतबार अपराह्न ४ बजेतिर दुवैतर्फबाट ढुंगा हानाहान भएको हुँदा भारतीय पक्षले प्रहार गरेको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थिए ।











