
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको पूर्वसन्ध्यामा गोरखाबाट भनेका थिए– ‘हामी तेस्रो तर निर्णायक शक्ति बन्छौँ ।’
मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको मतपरिणामले माओवादीलाई साँच्चिकै निर्णायक र शक्तिशाली शक्तिको रूपमा उभ्याएको छ । जता गए पनि माओवादीको चाहनामा सरकार बन्ने भएको छ ।
माओवादी जुन गठबन्धनमा गए पनि सरकार गठनका लागि दुई मतको मात्र अभाव हुने भएको छ । माओवादीले जुन गठबन्धनलाई समर्थन गर्यो सोही गठबन्धनको सरकार बन्ने देखिन्छ ।
सत्ता गठबन्धनको गणित
सत्ता गठबन्धको सबैभन्दा ठूलो दल कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट पाएको छ । त्यसैगरी, माओवादीले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ पाएको छ भने गठबन्धनमा आवद्ध एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादीले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेको छ ।
यस आधारमा वर्तमान गत्ता गठबन्धनको कुल मत १३६ हुन्छ । बहुमतको सरकार गठनका लागि १३८ मत आवश्यक हुन्छ । यस्तो अवस्थामा गठबन्धनलाई सरकार गठनका लागि २ मत कम हुन्छ । केही स्वतन्त्र वा साना दललाई साथ लिए गठबन्धनको सरकार गठन हुन्छ ।
एमाले गठबन्धनको गणित
एमाले नेतृत्वको गठबन्धनमा जसपा र राप्रपा छन् । एमालेले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट पाएको छ । जसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ सिट पाएको छ । त्यसैगरी राप्रपाले प्रत्यक्ष र समानुपातिकमा ७–७ सिट पाएको छ ।
यस आधारमा कुल १०४ सिट होल्ड गर्ने एमाले गठबन्धलाई सरकार गठन गर्न ३४ सिट आवश्यक हुन्छ । यस्तो अवस्थामा एमालेलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्न सहज छैन । तर, एमाले गठबन्धनमा माओवादी आए कांग्रेसलाई जस्तै एमालेलाई पनि सहज हुने छ ।
एमाले गठबन्धनको कुल मत १०४ हो । यसमा माओवादीको ३२ मत जोड्दा १३६ हुन्छ । यस्तो अवस्थामा भने एमाले नेतृत्वमा सरकार गठनका लागि कांग्रेस नेतृत्वकै जस्तो २ मत अपुग हुन्छ ।
यहाँ पनि केही स्वतन्त्र वा साना दलको समर्थन लिएर एमाले–माओवादी सहकार्यमा सरकार गठन गर्न हुन्छ । तर, त्यसका लागि एमालेसँग सहकार्य गर्न माओवादी तयार हुनुपर्ने हुन्छ ।
माओवादीले के गर्ला ?
पछिल्लो सहमति र निर्णयअनुसार वर्तमान सत्ता गठबन्धनकै सरकार गठन हुने छ । तर, कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन । यसैबाट गडबड हुनसक्छ ।
प्रचण्ड लामो समयदेखि प्रधानमन्त्रीको तयारीमा छन् । निर्णायक शक्ति भएका कारण प्रचण्डले सहजै प्रधानमन्त्री दाबी गर्न सक्छन् ।
प्रचण्डले प्रधानमन्त्री दाबी गरेको खण्डमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छोड्न तयार भएमा सहज हुने देखिन्छ । या, आलोपालो प्रधानमन्त्री बन्ने र पहिलो प्रधानमन्त्री आफूलाई बनाउने खण्डमा पनि प्रचण्ड तयार हुन सक्छन् ।
यदि, देउवा पछिल्लो कार्यकालको प्रधानमन्त्री बन्न तयार नहुने अवस्था आएमा माओवादीले अर्को सम्भावना खोज्न सक्छ । त्यो भनेको एमालेसँगको सहकार्यमा प्रधानमन्त्री हो ।
कांग्रेससँग कुरा नमिलेर एमालेसँगको सहकार्यमा सरकार गठन गर्नुपर्ने अवस्थामा पनि प्रचण्डले प्रधानमन्त्री नै दाबी गर्ने छन् । प्रचण्डको पहिलो दबी पूर्ण कालको प्रधानमन्त्री हुने छ भने दोश्रो मागका रूपमा आधा–आधा कार्यकाल र पहिलो कार्यकालको प्रधानमन्त्री हुनेछ । प्रचण्डको चाहनामा एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भए एमाले–माओवादी सहकार्यको सम्भावना खुल्छ ।











