Logo

नेपाल : न्यू कोलोनिज्मको खतरा


Published On : 12 September, 2019

– देव गुरुङ
नेपाललाई ‘न्यु कोलोनिजम’मा मात्रै सीमित राख्ने उनीहरूको योजना होइन । ‘न्यु कोलोनिजम’को ग्राउन्ड बनाउने र विस्तारै अन्तर्राष्ट्रिय अवस्था हेरेर अर्को कदम चाल्ने रणनीति देखिन्छ । अन्तर्राष्ट्रिय अवस्था हेर्दा शक्तिराष्ट्रहरूबीचको टकराव बढ्दै गइरहेको छ । चीन पछिल्लो समय जसरी राष्ट्रिय पुँजीको गुणात्मक वृद्धि गर्दै दिगो विकासको दिशामा गइरहेको छ, र अन्तर्राष्ट्रिय व्यापार पनि विस्तार हुँदै गइरहेको छ । ठीक विपरीत २००८ पछि अमेरिकाको अर्थतन्त्र ह्रासोन्मुख छ । त्यसले पश्चिमाहरूमा ठूलो छटपटाहट देखिन्छ । चीनसँगै एसियाका कयौँ देशमा विकासको बढ्दो गतिले पश्चिमाहरू अब आर्थिक प्रतिस्पर्धामा उछिन्न सकिँदैन भन्ने निष्कर्षमा पुगेका छन्, र फैजी प्रतिस्पर्धातर्फ उन्मुख हुँदै छन् । त्यसैकारण उनीहरूले पूर्व र पश्चिमबीचको व्यापारको केन्द्र, तेल र ग्यासको भण्डार भएको, विकासको अत्यन्त सम्भवना रहेको अरब खाडी मुलुकमाथि विगतको दशकमा युद्ध थोपरे । अब आक्रमणको निशाना चाइना बन्दैछ, एसिया बन्दैछ । अमेरिकाले पछिल्लो समय आफ्नो सेनाको सबैभन्दा ठूलो हिस्सा ‘इन्डो प्यासिफिक’ क्षेत्रमा तैनाथ गरेको छ । युद्ध विमानहरू, लडाकु पानीजहाजहरू, सैन्य क्याम्पहरू यही क्षेत्रमा तैनाथ गरिराखेको छ । र, ‘इन्डोप्यासिफिक स्ट्राटेजिक पार्टनरसिप’ भन्दै जापान, दक्षिण कोरिया, अष्ट्रेलियादेखि भारतलगायत विभिन्न मुलुकसँग एकप्रकारको सैन्य गठबन्धनको प्रस्ताव राखेर क्रियाशील भइरहेको छ । यो सबै चीनलक्षित नै हो ।

विगतमा पनि दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स आदि मुलुकलाई प्रयोग गरेर चीनविरुद्ध पूर्वी तटवर्तीय क्षेत्रबाट घेराबन्दीको प्रयास गरेको थियो । तर, त्यसक्षेत्रका चिनियाँ जनताको जीवनस्तर ह्वात्तै बढ्दा घेराबन्दी कामयाव हुन सकेन । त्यसपछि उत्तरतर्फ मंगोलियाबाट प्रयास ग¥यो । तर, त्यो पनि सफल हुन सकेनको छैन । त्यसपछि पश्चिमतर्फबाट प्रयास गर्ने क्रममा उसले चीनकै सिन्चाङ प्रान्त (मुस्लिमहरूको बाहुल्यता रहेको क्षेत्र) टुक्र्याएर चीनमाथि घेराबन्दी गर्न सकिन्छ भनेर उसले अफगानिस्तान कब्जा गरेर सैन्य अखडा कायम ग¥यो । त्यहाँ पनि उनीहरू सफल हुन सकेनन् । त्यसपछि अहिले तिब्बतलाई घेराबन्दीको एउटा केन्द्रबिन्दु बनाएर कोशिश गरिरहेका छन् । तिब्बतलाई फुटाउन सकियो भने सिन्चाङ प्रान्त स्वतः विभाजन हुन्छ र चीनको महाशक्ति बन्ने प्रक्रिया रोक्न सकिन्छ भन्नेमा उनीहरू ढुक्क देखिन्छन् । तिब्बतलाई फुटाउन सकिएन भने पनि कम्तीमा व्यापारिक मार्गमा ‘सेबोटेज’ गर्ने उनीहरूको रणनीति देखिन्छ । तिब्बत सिन्चाङ प्रान्त हुँदै, पाकिस्तानको जलालावाद बन्दरगाह, गोदार बन्दरगाह, अरबको छेउको बन्दरगाहसम्मको बाटो निकाले अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने चीनको योजना छ । तिब्बतमा गडबढ गराएर त्यो मार्गमा अवरोध गर्दिने, दक्षिणतर्फको ‘साउथ सि’ मा गडबढ मच्चाएर इन्डोनेसिया र मलेसियाको मलका जलडमरु हुँदै हिन्द महासागर हुँदै अरब महासागरसम्मको फैलिएको व्यापार तहसनहस गराउने अभियानमा अमेरिका देखिन्छ ।

यसरी लागेको अमेरिकाका लागि नेपाल पछिल्लो समय ठूलो रणनीतिक महत्वको स्थान बनेको छ । चीनको र त्यसमा पनि तिब्बतको सीमावर्ती क्षेत्रमा परेको हुनाले तथा नेपाल सानो मुलुक हुँदा हुँदै पनि चीन र भारतजस्ता ठूला मुलुकको बीचमा रहेकाले नेपालमा ऊ सैन्य क्याम्प खडा गर्ने एकसुत्रीय योजनामा लागिरहेको छ । त्यसका लागि दलहरूबीच टुटफुट ल्याउने, उथलपुथल गराउने, नेपाललाई इन्डो प्यासिफिकमा प्रवेश गराउन चाहेको छ । त्यसमा प्रवेश गर्ने बित्तिकै नेपालमा अमेरिकी सेना आउने बाटो खुल्नेछ । त्यो पनि हुन नसकिरहेको अवस्था छ । त्यसैले ऊ यहाँ जुनसुकै खालको गडबढी मच्चाउन लागेको छ । द्वन्द्वमा लैजाने, कुनै पनि दललाई स्थापित हुन नदिने, कुनै पनि नेतालाई स्थापित हुन नदिने, एउटाको विरुद्धमा अर्कोलाई प्रयोग गर्ने, अर्कोविरुद्ध अर्कोलाई प्रयोग गर्ने, कुनै पनि प्रणाली स्थापित हुन नदिने रणनीति अहिले देखिन्छ । एकसुत्रीय रूपमा अस्थिरता र अराजकता पैदा गराउने लाइन उसको देखिन्छ । यसलाई चिर्न सिंगो देशलाई युनिफाइड गर्न सक्यौँ भने मात्रै हामी जोगिन सक्छौँ ।
कुनै न कुनै रूपमा साम्राज्यवादको सैन्य अखडा नेपालमा कायम भयो भने नेपालको अस्मिता गम्भीर संकटमा पर्नेछ । दुई ठूला छिमेकीको बीचमा रहेको मुलकमा तेस्रो मुलुकका सेना आएर अखडा जमाउने बित्तिकै दुईवटा छिमेकीले किन सहन्छ ? उदाहरणका लागि हिजो सिक्किमको इतिहास हेर्नुस् । भारतले सिक्किम कब्जा गर्ने क्रममा चीन मौन बस्दियो । किन मौन कस्यो त ? सिक्किम यस्तो खालको रणनीतिक विन्दुमा थियो कि त्यहाँका राजा चोख्याल अमेरिकाको दलाल बन्दै गएका थिए । आफ्नो सीमावर्ती क्षेत्र सिक्किम अमेरिकाको अखडा बन्ने अवस्था आएपछि भारतले कब्जा ग¥यो, चीन मौन बस्यो । भुटानमा हेर्नुहुन्छ भने पनि त्यो पनि एउटा रणनीतिक बिन्दु थियो । त्यहाँ पनि पश्चिमा शक्तिले खेल्न सक्छ भन्ने लागेर भारतले भुटानको सेना नै भारतले कन्ट्रोल गर्दियो, पर्यटन पनि कन्ट्रोल गर्दियो । यही रूपमा नेपालमा विदेशी सेनाको अखडा बन्ने अवस्था आयो भने उत्तरले पनि सहँदैन, दक्षिणले पनि सहँदैन । त्यो अवस्थामा नेपालको अस्मिता कहाँ पुग्छ ? अहिलेको स्थिति भनेको ‘न्यु कोलोनिजम’मा मात्रै सीमित छैन । अब बढेर गएर नेपालको अस्मिता नै बच्छ कि बच्दैन भन्ने अवस्थामा पुग्दैछ । त्यसैले यो गम्भीर संकटको अवस्था भएकाले अहिले संयमतापूर्वक सहमति, सहकार्यको बाटो खोज्नुपर्ने अवस्था छ । जुनसुकै मूल्य मान्यतामा पनि देशभक्त, राष्ट्रवादीहरू, सच्चा कम्युनिष्टहरू, क्रान्तिकारीहरू युनिफाइड हुनुको विकल्प छैन । (कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्