Logo
Logo

असमान पहाडहरुमा समानता खोज्दै घनेन्द्र



प्रिय कर्णध्वज !
शहरमा तिम्रो जस्तो कञ्चन मन छैन
लालध्वज बाजेको जस्तो स्वस्थ जीवन छैन
बोजूको जस्तो निश्चल इमान छैन
शहर गाउँ जस्तो पटक्कै छैन ।
पृ.३०

सिर्जनामार्फत यथार्थका चित्र उतार्न खप्पिस छन्, घनेन्द्र । उनको कविता संग्रह ‘असमान पहाडहरु’ पढेपछि ‘कविता कस्तो लेख्नु पर्छ’ भन्ने ज्ञान हुन्छ । नेपाली गजलमा तन, मन र धन सबै सुम्पेर लागेका व्यक्ति हुन् घनेन्द्र ।

यहाँ मैले उनको गजलभन्दा पनि ‘असमान पहाडहरु’भित्रका कविताहरुमा समानता खोजिरहेको छु । साहित्यभन्दा पनि पत्रकारितालाई उनी आफ्नो रोजीरोटीको मार्ग र पेशा ठान्छन् ।

हुनतः घनेन्द्र ओझा भन्ने बित्तिकै गजलकै लागि यो धरामा जन्मेका हुन् कि भन्ने लाग्दछ जो केहीलाई पनि । २०६१ सालमा ‘एउटा अर्को संग्रामको घोषणा’ कविता संग्रह प्रकाशित छ । र अहिले, ‘असमान पहाडहरु’ । दुई कविता कृति लगायत उनका हालसम्म डेढदर्जज जति कृतिहरु प्रकाशित भइसकेका छन् ।

घनेन्द्र पहिला समाज देख्छन्, भोग्छन् र, पछि कविता लेख्छन् । माथि उल्लेखित उनका कविताका पंक्तिहरुले पनि यी कुराहरु स्पष्ट पारेका छन् । प्रायः साहित्यकारहरू पहिला कविता लेखेर साहित्यमा प्रवेश गर्छन, पछि कविता लेख्न विर्सन्छन् । घनेन्द्रले चाहिँ पहिला कविता लेखे, अहिले पनि लेखिरहेका छन् ।

गजल र कविता दुबैमा अब्बल छन्, घनेन्द्र । अर्को कुरा कविता बुझेर लेख्नु र लहडमा कविता लेखेर कवि बन्नुमा धेरै अन्तर छ । अहिले धेरै लहडमा कवि बनेका, सम्मान खाएका र आफू वरिष्ठ कवि भएको ठान्छन्, अनि राजनीतिक पहँुचको आधारमा आफ्नो स्वार्थ पुरा गर्छन् । तर मैले पचासको दशक देखिनै घनेन्द्रलाई हेरिरहेछु्, पढिरहेछु, उनको कित्ता क्लियर छ, तापनि उनीहरूले गलत कार्य गरे भने कडै रुपमा प्रस्तुत हुन्छन् । कसैलाई छोड्दैनन् ।

यो मैले धेरै ठाउँहरुमा देखेको छु, सामाजिक सञ्जालमार्फत पढेको छु । यसैले गर्दा उनी धेरैका आँखाका कसिँङ्गर बनेका छन्, तर उनलाई कुनै पर्वाह छैन । निरन्तर साधनामा डुब्छन्, अलिकति समय निकालेर सामाजिक सञ्जालमार्फत गलत नियत भएकालाई सजग गराउछन् ।

त्यसपछि उनी साहित्य साधनामा रम्छन् । र, गतिला सिर्जनाहरु लिएर उपस्थित हुन्छन्, साहित्य पारखीहरुको माँझ । यसै मेसोमा प्रकाशन भएको कृति हो असमान पहाडहरु ।

ए हजुर !
मेरै काँधमा चढेर
मेरै विवेकलाई कुल्चिएर
मेरै विपन्नता, मेरै विवशता
मेरै अभाव, मेरै पीडा
र, मेरै दुःखलाई देखाएर
चढेपछि सत्ता–शिखर
त्यति सुन्दर तपाईं
त्यति महान् तपाईं
त्यति विवेकी र कोमल तपाईं
त्यति इमान्दार र असल तपाईं
हुनुभयो कसरी यति निर्मम ?
हुनुभयो कसरी यति निर्दयी ?
यति निष्ठुर बन्न कसरी सक्नुभयो ?
पृ.५४–५५

घनेन्द्र निडर र लागेको कुरा भनिहाल्ने, चाकरीचाप्लुसी गर्न नजान्ने खरा व्यक्ति हुन् । यिनीसँग सङ्गत गर्दै गएपछि उनको नरमपना पनि भेटिन्छ । उनी ठान्छन्, कसैको केही नखाए पछि किन डराउने ? र्निधक्क बोल्न सक्ने हुनुपर्छ । यसले हामीलाई हानी वा नोक्सानी त गर्छ । तर, त्यसको पर्वाह नगरेरै उनी जीवनको गाडी दौडाई रहेका छन् ।

उनले भर्खरै फेसबुकमा लेखेको एउटा स्टाटस यहाँ राख्न चाहेँ– ‘खासमा म कुनै ‘अवसर’का लागि विवेक र दृष्टि बन्धकी राख्दिनँ ! होलाई होइन र होइनलाई हो भनाएर केही लिनु छैन मलाई ! अ–तथाकथित अवसर तिनै बेबकुफहरूले लिऊन्, जो व्यक्तिपूजनको अन्धभक्तिमा आफूलाई पनि र नेतालाई पनि बिगार्दै छन्, त्यसका कारण देश बिग्रँदै छ !’

उनी यी र यस्तै कडा स्टाटसले कुमार्गमा लाग्नेहरुलाई सुमार्गमा ल्याउँन चाहन्छन् । उनका कविता पनि कलात्मक शैलीले समाजका विकृतिहरुलाई उदाङ्गो बनाउन चाहन्छन् र हाम्रा गाउँ वस्तिहरुमा उज्यालो छर्न चाहन्छन् ।

जनमानसमा विभिन्न आस्वासन बाँड्ने तर, खाने बेलामा आफू र आफन्तहरुलाई मात्र खुवाउन पल्केका राजनेताहरुको चरित्रमाथि धेरै शब्दहरु खर्चेका छन्, कविले । यसको केही उदाहरण चाहिँ माथि उल्लेखित कविताले पनि बोलेको छ ।

वास्तवमा भन्ने हो भने हाम्रो समाजमा वेतिथिका चाङ्हरु बग्रेल्ती छन्, एकातिर टाल्न खोज्यो अर्कोतिरबाट खुस्कने, अर्कोतिरबाट समायो अर्कैतिर खुस्कने । समाल्नैै नसक्ने बेतिथिहरुलाई राजनीतिक संरक्षण हुनु हाम्रो जस्तो मुलुकलाई पक्कै पनि सुहाउँने कुरा होइन ।

त्यसैले पनि कवि लेखकहरूले सिर्जनाका माध्यमबाट यस्ता विकृतिहरूको उजागर गर्नुपर्छ । अर्को कुरा सर्जक सचेत हुनु जरूरी देखिन्छ । घनेन्द्रका सिर्जनाहरुमा यी गुणहरू छन् । उनी सचेत छन् र, त सचेतनाका आवाज हाम्रो समाजमा घन्काइरहेका छन्, सिर्जनाका माध्यमबाट ।

उनका कविताले कुण्ठा बोलेका छैनन्, बाटो बिराउनेहरुलाई सही मार्गमा ल्याउन प्रयत्न गरिरहेका छन् ।

उनको कविताको निष्कर्ष छ– भिरमा लड्नेलाई रामराम मात्र भन्ने हो काँधै थाप्न त कहाँ सकिन्छ र ? यसको परिणाम अहिले राजनीतिज्ञहरूले राम्ररी भोगिरहेका छन् । अहिले हामीले देखिरहेकाछौँ कहीँ कतै पनि राजनीतिले नछोएको होस्, न्याय दिनेले पनि न्याय पाउँन नसकेको परिप्रेक्षमा घनेन्द्रले लेखेको कविता जहिले पनि तरो ताजै रहेको पाइन्छ । तल हेरौँ–
र, अन्यायको चाङ बोकेर
किन हाँसिरहन्छ न्यायालय ?
किन हत्या हुन्छ न्यायको यसरी
–न्यायमूर्तिहरुबाटै ?
भन्नुहोस्– म कतिन्जेल विस्वास गरिरहँु
–न्यायिक अन्यायमा ?
पृ.३९–४०

जीवन र जगतका कविता लेख्न रुचाउँने घनेन्द्र, एउटै बगैँचामा विविध फूलहरु आ–आफ्नै सुगन्ध बोकेर फर्किरहेका जस्तै उनका कविताहरुमा विविधता देखिन्छन् । उनकोे कविताको मूल उद्देश्य भनेकै मानविय संवेदनासँग जोडिनु नै हो । चाहे ति नेता हुन या समाजका अगुवा नै किन नहुन मानवताको भावनासँग खेल्ने सबै मान्छेका शत्रु नै हुन, त्यसकारण उनीहरु विरुद्ध हामीले केही बोल्ने पर्छ । त्यसैले घनेन्द्र कविता मार्फत बोलिरहेका छन् ।

शालीन कवितामार्फत जनमनसँग खेलवाड गर्नेहरूविरुद्ध उछितो कढिरहेका छन् । नेपालको राजनीति प्रणाली र नेता भनाउँदाहरुको रवैयाले गर्दा उब्जिएका यावत समस्याहरुको समाधान गर्नु भन्दा पनि त्यसलाई बढाउँने उनीहरुको प्रवृतिले दिक्क बनेका छन् कवि ।

जति नै दिक्कवाक्क भए पनि कविले बेतिथिका विरोधीहरुलाई झटारो हानिरहनु पर्छ भन्ने कविताका मूलमर्महरु हुन् । व्यवस्था बदलिए पनि हाम्रो अवस्था वदलिन सकेको छैन, धेरै असमान पहाडहरु हाम्रा सामुन्ने गजधुम्म भएर बसेका छन् । तिनीहरुलाई हामी हामै्र सामथ्र्यले समानता ल्याउनु पर्छ भन्ने चाहना कविको छ ।

यस अर्थमा घनेन्द्रका कविताहरु सफल छन्, चेतनाको उज्यालो छर्न सक्ने सामथ्र्य बोकेका छन् । हरेक मान्छेमा आफ्ना गुण र दोष हुन्छन् नै । मुख्य कुरा उसले दिन खोजेको सन्देश कस्तो हो, के हो भन्ने कुरामा हामीले ध्यान दिनु पर्दछ । यस अर्थमा उनका कविताहरु पढिरहँदा आफूले आफैलाई राष्ट्रप्रति जिम्वेवार बोध भएको महशुस हुन्छ नै ।

यो कवि र कविताको सफलता हो । असमान समाजमा समानताको बहस कति लामो होला ? त्यतातिर अहिले नसाचौँ तर हाम्रा आवाजहरुलाई बुलन्द गर्दै जानु एउटा सचेत नागरिकको मूल कर्तव्य, घनेन्द्र ओझाका कविताले कर्तव्यबोध गराएका पक्कै छन् । असमान पहाडहरुका एक्काइस थान कविताहरु यसको ज्वलन्त उदाहरण हुन् ।

प्रतिक्रिया दिनुहोस्