Logo
Logo

ब्लग : अहङ्कार र दम्भले भरिएका हर्क



संसारमा छरिएका मानिसलाई भर्चुअल माध्यमबाट जोड्ने उद्देश्यका साथ सामाजिक सञ्जालको परिकल्पना र विकास भयो । र, आज दुनियाँको सम्बन्धले यसै माध्यमबाट ताजकि पाइरहेको छ ।

सामाजिक सञ्जाल जीवनशैली बनेको छ । सदुपयोग गर्नेहरूले भरपुर सहायता पाएका छन् । तर, दुरूपयोग गर्नेहरूका लागि ठूलो हतियार भएको छ । धेरैका लागि अभिशाप पनि भएको छ ।

सामाजिक सञ्जालले अभिव्यक्तिको साँघुरो घेरालाई फराकिलो मैदान बनाइदिएको छ । र, जो कोही विनारोकतोक बोलिरहेका छन्, लेखिरहेका छन् । आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । तर, अभिव्यक्तिको फराकिलो मैदान पाएका धेरै मानिसले आफ्नो सर्यादा र सीमा भुलिरहेका छन् । त्यसैले धेरै मानिस सञ्जालमा व्यक्त धारणाकै कारण विवादमा पर्दै आएका छन् ।

पछिल्लो हप्त धरान उपमहानगरका मेयर हर्क साम्पाङबाट त्यस्तै गल्ती भयो । फेसबुकमा लेखेको स्टाटस र त्यसमा प्रयोग भएको शब्दका कारण अधिक आलोचना भयो । जातिय विभेद हुने शब्दका कारण कारबाही हुने अवस्था आएपछि माफी मागे ।

मेयर हर्क अधिक फेसबुक प्रयोग गर्ने जनप्रतिनिधिमा पर्छन् । केही वर्ष वैदेशिक रोजागरी गरेर फर्केका हर्क सामाजिक गतिविधमा संलग्न हुँदै स्वतन्त्र उम्मेदवारको रूपमा धरान उपमहानगरको मेयर निर्वाचित भए । मेयर बनेपछि हर्कले फेसबुक प्रयोग झनै बढाए ।

वैदेशिक रोजगारीबाट फर्केपछि धरानको खानेपानी समस्या, भ्रष्टाचारविरूद्धको गतिविध र राष्ट्रियताका मुद्दाहरूमा आन्दोलन गर्दै आएका थिए । उनले फेसबुकको नामै ‘हर्क साम्पाङ अ रेभुलेसन’ राखे । र, मेयर भएपछि यो अकाउन्टबाट दैनिक १५ वटासम्म तुषयुक्त र द्वेषपूर्ण स्टाटसहरू लेख्दै आएका छन् ।

धरानका जनप्रतिनिधि भएका कारण धराने जताको समस्या त लेख्ने भै भए । तर, त्योभन्दा धेरै अरूलाई गाली गर्न स्टाटस लेख्दै आएका छन् । उनका अधिकांश स्टाटस घमण्डले भरिका हुन्छन्, गालीयुक्त हुन्छन् । यसैको निरन्तरता स्वरूप पछिल्लो पटक जातिय विभेद हुने प्रकृतिको स्टाटस लेखेका हुन् ।

गत मंगलबार हर्कले फेसबुकमा लेखे– ‘जोरी खोज्नेको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ हर्कको यो स्टाटस जातिय विभेदयुक्त त छ नै अति घमण्डयुक्त र धम्कीपूर्ण पनि छ । ‘जोरी खोज्नेहरूको बास उठ्नसक्छ’ भन्दै धम्कीको भाषा पनि बोलेका छन् ।

हर्कले प्रयोग गरेको ‘चमार’ शब्द उच्च जातिवादी अहंकारको परिणाम हो । कथित, छुत जातले अछुत मान्ने जातलाई गर्ने अति घृणित सम्बोधन हो । हर्कको यो अभिव्यक्ति चौतर्फी आलोचनाको विषय बन्यो । संवैधानिक निकायले समेत माफी माग्न आग्रह ग¥यो । दलित अधिकारकर्मीहरूले कानुनी कारबाही गर्ने चेतावनी दिए ।

सत्ताले मानिसलाई अनेक बनउँछ । हर्कमा पनि सत्ताले नै घमण्डको अनेक रूप भरिदिएको छ । मेयर भएपछि हर्कका हरेक शब्दमा ‘हामीले’ होइन ‘मैले’ हाबी भएको छ ।

हर्कलाई आत्मलोचना गर्न भन्दै दलित आयोगले भन्यो– ‘जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसीन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्मविपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौँ ।’

संवैधानिक आयोगले नै माफी माग्न भने पनि हर्क तयार भएनन् । बरू, एउटा गल्ती छोप्न अरू गल्तीहरू गर्दै गए । जातिय विभेदयुक्त अभिव्यक्तिलाई छोप्न सोही स्टाटससँग सम्बन्ध राख्ने अरू ४–५ स्टाटस लेखे ।

हर्कले गल्ती स्वीकार गरेर माफी माग्नुको साटो घमण्डले भरिपूर्ण अभिव्यक्ति दिँदै गएपछि दलित आयोगले कारबाहीका लागि गृहमन्त्रालयलाई सिरफारिस नै गर्नुपर्यो । उनले गल्ती स्वीकार गर्नुको साटो उल्टै दलित समुदायलाई अर्ति उपदेश दिने हर्कत समेत गरे ।

आयेगले गृहलाई पत्र लेख्दै भन्यो– ‘… आयोगले विज्ञप्तिमार्फत मेयर राईलाई सच्याउन आग्रह गर्दा पनि उनले बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ति उपदेश दिने र आफ्नो कमजोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रचलित कानून भन्दा आफू माथि रहेको जस्तो अभिव्यक्ति पुनः सार्वजनिक गरेको हुँदा उनलाई कानून बमोजिम कारबाहीका लागि सिफारिस गरिएको छ ।’

कारबाही नै हुने भएपछि हर्कले ढिलो गरी माफी मागे । सुरूमै माफी मागे राम्रो हुन्थ्यो । किनकी, मान्छेबाट गल्ती हुन्छ । त्यस्तो गल्ती तत्काल सच्याउने तत्परता पनि मान्छेमा हुनुपर्छ । तर, हर्कभित्र हुर्केको घमण्डले हर्कलाई सहजै माफी माग्न दिएन ।

०००

हर्क सर्वसाधारण मानिस होइनन् । सार्वजनिक पद धारणा गरेका जिम्मेवार व्यक्ति हुन् । हर्क र अरू धेरैले बोल्दा–लेख्दा त्यसको प्रभाव र असर के पर्छ ? भन्नेबारे सोच्नै पर्ने हुन्छ । किनकी, मान्छेको बोली हजारौं गोलीभन्दा पनि प्रभावयुक्त हुन्छ ।

सभ्य र संस्कारयुक्त समाजमा हर्कजस्तै बोलेका कारण धेरैले धेरै गुमाएका छन् । धेरैले पद गुमाएका छन् । धेरैले सामाजिक मान मर्यादा र प्रतिष्ठा गुमाएका छन् । धेरैले सजाय पाएका छन् । नेपालकै सन्दर्भमा महिलालाई अपमान हुने शब्द बोलेकै कारण शेरबहादुर तामाङले मन्त्री पदबाट राजिनामा दिएको घटना पनि ताजै छ ।

हर्क आफै संस्कारयुक्त समाज र राजनीतिको कुरा गर्छन् । र, बारम्बार नैतिकताको प्रश्न गर्छन् । नैतिकताकै कुरा गर्ने हो भने संविधान र कुनै जाति वा समुदायको मर्म र भावनाविपरीत अभिव्यक्ति दिने हर्कले तत्काल राजीनामा दिनुपर्ने हो । तर, राजीनामा दिने कल्पना पनि गरेनन् । र, आफैलाई मन नपर्ने संस्कारको पक्षपोषक भएर उभिए ।

०००

सत्ताले मानिसलाई अनेक बनउँछ । हर्कमा पनि सत्ताले नै घमण्डको अनेक रूप भरिदिएको छ । मेयर भएपछि हर्कका हरेक शब्दमा ‘हामीले’ होइन ‘मैले’ हाबी भएको छ ।

मेयर बनेपछि हर्कलाई लागेको छ– नगर मेरो हातमा छ । यहाँ मेरो राज चल्छ । मैले जे भने पनि छुट छ । म भन्दा अरू कोहि छैनन् । यस्तै यस्तै घमण्ड पलाएको छ । यस्तै यस्तै दम्भमा हर्कको राज चलेको छ ।

हर्कको अभिव्यक्ति सुन्दा, स्टाटसहरू पढ्दा एक शिक्षित र सार्वजनिक पद धारण गरेका व्यक्तिको धारणा भन्ने लाग्दैन । किनकी, उनका हरेक अभिव्यक्ति घमण्डयुक्त, तुषयुक्त, विभेदयुक्त छन् । र, यसरी नै हर्कको इमानजमान माटोमा मिल्दैछ ।

०००

मेयर हुनु अगाडि हर्कले उठाएका मुद्दाले धराने जनतामा आशा पलाएको थियो । त्यसैले राजनीतिक दलको दवदवा अन्त्य गर्दै धराने जताले हर्कलाई मेयर बनाए ।

मेयर भएपछि हर्कले सुरू गरेका कामले देशमा तरंग पैदा ग¥यो । राजनीतिक दलका ठूला नेताले पनि ‘हर्कबाट सिक्नुपर्छ’ भन्दै प्रशंशा गरे ।

हर्कले श्रमदानका लागि आह्वान गर्दा धराने जनताले साथ दिए । खानेपानी समस्या केही हदसम्म समाधान पनि भयो । तर, साथ, सहयोग र प्रशंशालाई घमण्डमा रूपमान्तरण गर्दै जाँदा हर्कमा राम्रोभन्दा नराम्रो धेरै देखिन थालेको छ ।

०००

अन्यायविरूद्ध बोल्नुपर्छ, लेख्नुपर्छ । आफूलाई लागेका कुरामा धारणा सार्वजनिक गर्ने अधिकार सबैलाई हुन्छ । तर, मैले बोलेको र लेखेको कुराले के प्रभाव पार्छ ? भन्ने ख्याल गर्नुपर्छ ।

समाजिक सञ्जालको युग छ । यो युग र यो प्रविधि कति द्रुत र प्रभावकारी छ भन्ने सोच्न पनि सकिन्न । सामाजिक सञ्जालमा व्यक्ति विचारले कति धेरै मानिसमा एकैपटक कति प्रभाव पार्छ भन्ने पनि सोच्नै सकिन्न ।

आज हर्कले सामाजिक सञ्जालको त्यो विहंगम प्रभाव र परिधि बुझ्न नसक्दा झण्डै जेल जानुपर्यो । यस्तो आपत्त हर्कलाई मात्र होइन, हामी सबैलाई आइलाग्न सक्छ । यस, अर्थमा सोच विचार गरेर मात्र लेख्नुपर्छ, बोल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्