Logo
Logo

शोभराजलाई पक्राउ गर्न सघाएकी ‘जासुस’ भन्छिन्ः उनी मान्छेको नाममा कलंक हुन्



काठमाडौं । नेपाली जेलबाट छुटेर चार्ल्स शोभराज फ्रान्स पुगिसकेका छन् । उनको अपराध शृंखलाको खुलासा हुनुअघि १९७६ मा जर्मन निशस्त्रीकरण विज्ञ एन्जेला केनले थाइल्यान्डको बैंककमा उनीबारे अनुसन्धान गरेकी थिइन् ।

जसले अन्ततः शोभराज पक्राउ गर्न सहायता गर्यो । अब के हुन्छ भन्ने जान्न आफू उत्सुक रहेको केन बताउँछिन् । केन अहिले ७४ वर्ष पुगिसकिन् । शोभराजले थाइल्यान्डमा अपराधको जालो फैलाउँदै गर्दा उनी आफ्ना डच कूटनीतिज्ञ पतिसँग बैंककमै थिइन् ।

त्यहीबेला हराएका दुई पर्यटकका आमाबुबाले चिन्ता व्यक्त गर्दै लेखेको चिठी डच राजदूतावासमा आइपुगेको थियो ।
‘त्यसरी कथाको खुलासा सुरु भयो,’ हाल भियतनामा बसिरहेकी र आणविक निशस्त्रीकरण विज्ञ तथा इन्टरनेसनल पिस इन्स्टिच्युटकी उपाध्यक्ष समेत रहेकी केनले बताइन् ।

उनका अनुसार खोजी गर्दै जाँदा हराएका पर्यटकहरुलाई शोभराजका छिमेकीहरुले देखेको केन र उनका पतिले मेसो पाए । तर, अपराधी भागिसकेको थाहा पाउँदा यी दुई अनुभवहीन जासुस निराश भए । तैपनि उनीहरुले खोजी जारी राखे ।

उनीहरुले अनेक ठेगानामा खोजे, हराइरहेकी डच महिलाको हातेझोला त्यही फ्ल्याटमा फेला पारे, जहाँ शोभराज बसेका थिए । केनले ती महिलाको डायरी उल्था गर्न सघाइन् ।

उनीहरुले त्यो सूचना इन्टरपोललाई दिए । थाइ प्रहरी अधिकारी सोमपोल सुथिमाइले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको केन बताउँछिन् । अन्ततः १९७६ मा शोभराज भारतमा पक्राउ परे र २१ वर्ष जेलमा बिताए । १९८६ मा केही समय जेलबाट भागेका उनी फेरि गोवामा समातिए ।

१९९७ मा जेलबाट छुटेपछि उनी पेरिसमा बस्दै आएका थिए। तर, २००३ मा नेपाल पुगेपछि उनीमाथि दुई हत्याको आरोपमा मुद्दा चलाइयो र जेल हालियो। नेपालको सर्वोच्च अदालतले स्वास्थ्यका कारण सजाय पुरा हुन ९ महिनाअघि नै उनलाई रिहा गरेको हो । उनको बारेमा बीबीसले द सर्पेन्ट नामक सिरिज बनाएको छ ।

तर, सो सिरिजमा आफ्नो चित्रणलाई लिएर केन खुसी छैनन् । आफूलाई ‘कूटनीतिज्ञकी पत्नी’ का रुपमा मात्र चित्रण गरिएकोमा उनको असन्तुष्टि छ ।

‘यो सबै कुरामा मेरो भूमिका अत्यन्त महत्वपूर्ण थियो। तर, पछुतोका साथ भन्नुपर्छ, सिरिजमा मेरो भूमिकालाई धेरै कमजोर पारेर देखाइयो,’ उनले भनिन्, ‘म देखाइएको भन्दा निकै उत्साही र मुखर थिएँ ।’

केन पछि पतिसँग अलग भइन् र आफ्नो विज्ञताको क्षेत्रमा लागिन् । शोभराज नेपालकै जेलमा हुँदा उनी अनेक पटक कामविशेषले नेपाल पुगिन् । तर, उनले शोभराजलाई भेट्न कहिल्यै चाहिनन् । ‘उनी मान्छेको नाममा कलंक हुन्, घृणित व्यक्ति हुन्,’ उनी भन्छिन् ।

शोभराजले अझै पनि प्रचार गरेर पैसा कमाउन पाउनु निन्दायोग्य भएको उनको भनाइ छ । अब शोभराजको अवस्था के हुन्छ भनेर जान्न आफू उत्सुक भएको उनले बताइन् । ‘तर, सिरियल किलरका रुपमा उनीप्रतिको मानिसको चासो कुनै न कुनै विन्दुमा घट्नेछ,’ केन भन्छिन् ।

एएफपी

प्रतिक्रिया दिनुहोस्