Logo
Logo

इण्डो प्यासिफिक : प्रचण्डको चट्टानी अडान


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

जतिबेला चिनियाँ विदेशमन्त्री वाङ यी तथा स्टेट काउन्सिलर काठमाडौँमा रहेको थिए, त्यति नै बेला प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिलेर अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दै थिए । त्यतिनै बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचतारे म्यारिएट होटलको माथिल्लो तल्लाबाट काठमाडौँको बिहङ्गम दृश्यावलोकन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीलाई ‘नेपाल तथाकथित इन्डो प्यासिफिक स्ट्रेटेजीप्रति असहमत’ रहेको कुरा बताउँदै थिए । चिनियाँ विदेशमन्त्री वाङ र नेकपाका अध्यक्ष ‘प्रचण्ड’बीच के कुराकानी भएको थियो भन्ने औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले पनि सार्वजनिक गरेको छैन । वाङ र प्रचण्डबीचको भेटघाट मुख्यतः इण्डो प्यासिफिक स्ट्रेटेजीमा भएको थियो र यसमा चीनको गहिरो चासो थियो भन्ने कुरा पछि सार्वजनिक भएको घटनाक्रमले छर्लङ्ग पारेको छ । इण्डोप्यासिफिक रणनीतिका विषयमा नेपालको अडान के हो भन्ने चिनियाँ जिज्ञासा भएकै बेला चिनियाँ विदेश मन्त्रालयले १० सेप्टेम्बरमा वाङलाई उद्धृत गर्दै प्रकाशित विज्ञप्तिले नेपालमा हलचल पैदा गरेको छ ।

उक्त विज्ञप्ति प्रकाशित हुनासाथ काठमाडौँस्थित अमेरिकी दूतावासले इण्डो प्यासिफिक स्ट्राटेजीबारे नेपाल सरकारको धारणा मागेको छ । प्रचण्डले विदेशीमन्त्री वाङसँगको भेटवार्तामा ‘नेपाल असंलग्न नीतिलाई दृढताका साथ अंगिकार गर्छ र तथाकथित इण्डो प्यासिफिक स्ट्राटेजीलाई (नेपाल)ले अस्वीकार गर्छ । चीनको विकासलाई रोक्ने कुनै पनि प्रयासको विरोध गर्छ ।’ भन्ने कुरा चिनियाँ विज्ञप्तिमा उल्लेख गरेको छ । गत डिसेम्बर १८ तारेख परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल पम्पेबीच भेटवार्ता भएपछि अमेरिकाले नेपाललाई इण्डो प्यासिफिक स्ट्राटेजीमा समावेश गरेको विज्ञप्ति अमेरिकाले जारी गरेको थियो । तर पनि नेपालको धारणा प्रष्ट रुपमा बाहिर आएको थिएन । जुन कुरालाई नेकपाका अध्यक्ष प्रचण्डले वाङको भ्रमण प्रष्ट पारेका छन् ।

गत भदौ २८ गते नेपालको पूर्वी जिल्ला इलाम पुगेका अध्यक्ष प्रचण्डले यस विषयमा थप स्पष्ट पार्दै भनेका छन्– पार्टी र सरकारको विदेशनीति स्पष्ट छ । नेपाल कुनै शक्तिकेन्द्रको सैन्य गतिविधिमा संलग्न हुँदैन । यस विषयमा कसैले भ्रम नपाले हुन्छ । प्रचण्डले थप जोड दिँदै भने– ‘चीनका विरुद्ध हुने गतिविधिमा नेपालको भूमि प्रयोग गर्न दिने छैनौँ । एक चीन नीतिप्रति हाम्रो प्रतिबद्धता छ ।’ उनले चिनियाँ विदेशमन्त्री वाङसँग यी कुरा बताएको भए पनि मिडियामा विभिन्नखाले कुरा आएको उनले बताए ।

यस विषयमा सरकारका प्रवक्ता तथा सूचना सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले इण्डो प्यासिफिक नीतिबारे नेपालको पूर्ववत मान्यतामा कुनै फरक नआएको र स्वतन्त्र मुलुकको हैसियतले छिमेकी मित्र राष्ट्र र अन्य मित्र राष्ट्रसँग आपसी हितमा सचेत भएर सरकारले व्यवहार गर्दै आएको बताएका छन् ।

काठमाडौंँस्थित अमेरिकी दूतावासकी प्रवक्ता आर्मेन्टले ‘बेइजिङबाट जारी विज्ञप्तिमा नेपालको दृष्टिकोण थाहा पाउनुलाई अचम्म भएको प्रतिक्रिया दिएकी छिन् । चिनियाँ राष्ट्रपति सीले आगामी असोज २४ देखि २६ गतेसम्म भारतको भ्रमण गर्दैछन् । त्यही भ्रमणको अवसर छोपेर नेपालले सीको भ्रमणको तयारी गरेको छ । त्यही तयारी सिलसिलामा विदेशमन्त्री वाङ पाकिस्तानबाट नेपाल आएका हुन् । चीनको बेल्ट एण्ड रोडमा हस्ताक्षर गरेको नेपालले राष्ट्रपति सीको नेपाल भ्रमणबाट धेरे कुराको अपेक्षा गरेको छ ।

यसअघि पनि प्रचण्डले प्रधानमन्त्री ओली देश बाहिर रहेको बेला यसै वर्षको जनवरी २५ मा भेनेजुएलाका कम्युनिष्ट राष्ट्रपति निकोलस मडुरोको दह्रो समर्थन र भेनेजुएलामा ‘साम्राज्यवादी’ अमेरिकाले गरेको हस्तक्षेपविरुद्ध कडा वक्तव्य निकालेका थिए ।

प्रचण्डका यी दुवै धारणाविरुद्ध अमेरिकी सरकारले तीव्र प्रतिक्रिया व्यक्त गरिसकेको छ । यहाँ के भन्न खोजिएको हो भने जहिले पनि दलहितभन्दा राष्ट्रहितलाई सर्वोपरी राखी काम गरिनु पर्दछ । राष्ट्रहित भनेको सबै पार्टी र मुलुकको साझा एजेण्डा हो । जसरी चीन, भारत वा अमेरिकाले आफ्नो सफल कूटनीतिको प्रयोगद्वारा आफ्नो मुलुकलाई समृद्धिको मार्गमा अघि बढाइरहेका छन्, त्यसबाट पाठ सिकेर हामीले पनि सफल कूटनीति र अर्थ कूटनीतिको माध्यमबाट मुलुकलाई अघि बढाउनु पर्दछ ।

राष्ट्रहितलाई पन्छाएर पार्टीका झिनामसिना स्वार्थलाई अघि बढाइरह्यौँ भने मुलुकले कहिल्यै पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई भेट्टाउन सक्दैन । नेकपाका अध्यक्ष प्रचण्डले व्यक्त गरेका अभिव्यक्तिप्रति अमेरिकाले कस्तो प्रतिक्रिया जनाउँला भन्ने कुराले नेपाल–अमेरिकाबीचको सम्बन्धलाई पुर्नभाषित गर्नेछ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्