Logo
Logo

काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना बढ्यो


429
Shares


काठमाडौं । ट्राफिक नियम पालनामा कडाई गर्ने उदेश्उले उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाएको छ । ट्राफिक नियम उल्लंघनसम्बन्धि विभिन्न १६ वटा कसुरमा एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना लिन थालिएको छ ।


३ पुसदेखि ट्राफिक प्रहरीले जरिवाना बढाएको हो । सवारी चलाउँदा कागजपत्र नबोकेको लगायतका कसुरमा एक हजार पाँच सय रुपैयाँ जरिवाना तिराउन थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले बताए । ट्राफिक नियम पालना बढ्ने र यसबाट दुर्घटना घट्ने अपेक्षाले अधिकतम जरिवाना लिन थालिएको उनको भनाई छ ।
१६ किसिमका ट्राफिक कसुरमा अधिकतम जरिवाना लिन थालिएको हो । रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोडेमा, सडकको गलत साइडबाट चलाएमा, एकतर्फी सडकमा चलाएमा, अवस्था ठिक नभएको सवारी चलाउँदा एक हजार पाँच सय जरिवाना गर्न थालिएको हो । त्यस्तै, रातीको समयमा बत्ती नबाली सवारी चलाउँदा, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा, नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा, लापरबाहीका साथ सवारी चलाउँदा पनि अधिकतम जरिवाना हुन थालेको छ ।


सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा, सवारी चालक अनुमतिपत्र(लाइसेन्स), सवारी दर्ता किताब साथमा नराखी चलाएमा, ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा तथा निषेधित क्षेत्रमा हर्न बजारमा पनि एक हजार पाँच सय जरिवाना हुने एसएसपी भट्टले बताए ।


यसअघि यस्ता कसुरमा ट्राफिकले एक हजार रुपैयाँ जरिवाना गर्दै आएको थियो । सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक प्रहरीले पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । जसमा ट्राफिकले अधिकतम जरिवाना गराउने निर्णय गरेको छ । लामो समयदेखि नेपालमा ट्राफिक जरिवाना नबढेकाले यसलाई बढाएर ट्राफिक नियम पालनामा कडाई गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।


‘२०७५ सालमा नै यातायात व्यवस्था विभागबाट अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन भएको रहेछ,’ एसएसपी भट्टले भने,‘त्यसलाई अहिले कार्यान्वायन थालिएको हो ।’


जरिवाना बढाइएकोमा यातायात व्यवसायीले भने असन्तुष्टि जनाएका छन् । तर, ट्राफिक प्रहरी अधिकारी भने जरिवाना न्यून हुँदा नियम उल्लंघन बढेको बताउँछन् । अन्य देशको तुलनामा नेपालमा ट्राफिक जरिवाना ज्यादै न्यून भएको उनीहरुको भनाई छ ।


ट्राफिक नियम पालनामा कडाई गराउन प्रहरीले एउटै कसुरमा पाँच पटकसम्म कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बन गराउन समेत थालेको छ ।

प्रतिक्रिया दिनुहोस्