Logo
Logo

ओलम्पिकमा आफ्नैबाट अन्तर्घात


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेकपाभित्रै कतिथरि गुट र उपगुट छ भन्ने कुरा हालै सम्पन्न भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनले पुष्टि गरेको छ । तत्कालीन नेकपा एमालेका दुई गुट योपटकको निर्वाचनमा पनि एक हुन सकेनन् । जसका कारण नेकपाका संस्थापक पुष्पलाल तथा साहना प्रधानका छोरा उमेशलाल श्रेष्ठ यसपटक पनि पराजित भए । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन थियो । तर, पनि उनले बाजी मार्न सकेनन् । उनलाई विगतमा जस्तै यो पटक पनि जीवनराम श्रेष्ठले नै पराजित गरे । जीवनराम श्रेष्ठलाई नेता वामदेव गौतमसहितको समर्थन प्राप्त थियो । यो पटक समर्थन पाउन कठिन हुने अवस्था देखिएपछि जीवनरामले केही पद थप गरेर भए पनि आफ्नो लागि बाटो सहज बनाए । उनले सचिव पद थपेर बामदेव पत्नी तुलसा थापालाई समेत आफनो कमिटीमा राख्न सफल भए । तुलसा थापा नेपाल कबड्डी संघको अध्यक्ष पनि हुन् ।

वामदेव गौतम पत्नीको ओलम्पिकमोह देखेर नेपाली खेल क्षेत्र अहिले चकित खाएको छ । जीवनराम श्रेष्ठले यो पटक बाजी मार्नुमा विगतमा उनलाई असहयोग गर्ने भनेर चर्चामा आएका खेलकुद परिषद्का उपाध्यक्ष पिताम्वर तिम्सिनाले पनि सहयोग गरे । तिम्सिना ओलीको कृपामा राखेपको उपाध्यक्ष बनेका हुन् । त्यो पनि दोस्रो कार्यकालका लागि । उपाध्यक्ष तिम्सिनाले लिएको यूटर्न अहिले नेपाली खेल क्षेत्रमा चर्चाको विषय बनेको छ ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री ओली र राखेप सदस्यसचिव रमेश सिलवालले समेत पनि यो विषयमा असन्तुष्टि राखेको बुझिएको छ । नेपाल ओलम्पिक कमिटीको निर्वाचनबाट यो पटक पराजित भएका केही अनुहार हेर्ने हो भने नेपाली खेल क्षेत्रमा चाकडी चाप्लुसी र तरिका जान्नेहरुले मात्रै नेतृत्व गर्ने क्षेत्र हो भन्ने पुष्टि भएको छ । ओलम्पिकमा नेपालको खेल क्षेत्रबाट लिन होइन दिनका लागि योगदान गर्नेहरु पराजित भएका छन् । नेपाली खेल क्षेत्रबाट सधैँ आफनो दुहुनो सोझाउनेहरु अहिले ओलम्पिक कमिटीमा पनि विजयी भए । उमेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष पनि हुन् । व्यवसायिकरुपमा पनि राम्रो काम गरिरहेका उमेशले पछिल्लो केही वर्षयता नेपाली खेल क्षेत्रका लागि राम्रा र ठुला प्रायोजकहरु खोजिदिने काम गरेका थिए । तर उनको आवश्यकता नेपाली खेलक्षेत्रले नदेखेकोमा सवै आश्चर्यचकित भएका छन्् ।

त्यस्तै आफनै खल्तीबाट रकम खर्च गरेर पनि नेपालको भलिवल खेलमा विशेष योगदान पु¥याएका मनोरन्जन शर्मा पनि नेपाल ओलम्पिक कमिटीको टिममा पर्न सकेनन् । नेपाली खेल क्षेत्रमा आफनो ब्यक्तिगत लगानी खासै नभएका र नेपालको खेल क्षेत्रलाई राम्रै प्रयोग गरेर आफनो जीवन चलाइरहेकाहरु नै ओलम्पिक कमिटीमा पुगेका छन् । कोही विगत ३० वर्षदेखि खेल संघमा राज गरिरहेकाहरु छन् । कोहीको योगदान नेपाली खेल क्षेत्रका लागि शून्यप्राय नै छ । तर यसपटकको निर्वाचनमा पनि ओली गुट नराम्ररी पराजित हुनुको पछाडिको कारण नेकपाभित्र सलबलाएको अन्तर्घात नै हो । ओलीका निकै नजिक भनेर चिनिएका मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारी पनि योपटक पराजित भए । जीवनरामको गुटमा भएर पनि पराजित हुने अभागीमा यो पटक केशव विष्ट देखापरे । पूर्वसदस्यसचिव विष्टलाई खेल संघका पदाधिकारीले विगतमा लगाएको गुन पनि तिरेनन् । खेल क्षेत्रका लागि काम नलाग्ने भए पनि विष्टले नेपालको खेल संघका पदाधिकारीका लागि धेरै काम गरेका छन् । तर आज उनलाई गुनको बदला पीडा दिएको खेल विज्ञहरु बताउँछन् ।

सर्वोच्च अदालतमा मुद्दा परेका कारण एक साता ढिला भएको निर्वाचनमा यो पटक पनि जीवनरामको तरिका काम लागेको छ । राखेपको सदस्यसचिव भएको बेला जुडो संघको प्रतिनिधि बन्दै नेपाल ओलम्पिक कमिटीमा प्रवेश गरेका जीवनराम अहिले नेपाल स्की संघको अध्यक्ष पनि हुन् । अहिले उनी त्यही संघमार्फत ओलम्पिक कमिटीमा प्रतिनिधि हुन् । यो उनको दोस्रो कार्यकाल हो । उनी यस अघि आठ वर्ष नेपाल ओलम्पिक कमिटीको महासचिव पनि भइसकेका छन् ।

युवा तथा खेलकुदमन्त्री जगत् विश्वकर्मा र राखेप सदस्यसचिव सिलवालले बेलैमा आफनो उम्मेदवारका लागि लबिङ नगरेका कारण उमेश पराजित भएको तर्क गर्नेहरु पनि छन् । सदस्यसचिव सिलवालले निर्वाचन अगाडि आफ्नो भूमिका तटस्थ रहने बताइरहेका थिए । तर अन्तिम अवस्थामा आएर उनको पक्षबाट पुरेन्द्रविक्रम लाखे महासचिवको उम्मेदवार बने । पुरेन्द्रलाई महासचिव बनाउने विषय धेरैलाई चित्त बुझेको थिएन । जसका कारण पनि उमेशलाई खासै सहयोग मिल्न सकेन । त्यसमा पनि मन्त्री विश्वकर्माले अन्तिम समयमा आएर मात्रै उमेशको पक्षमा बोलेका कारण पनि भोटरहरुले उनको विश्वास नगरेको बताइन्छ । उता ओली गुटबाटै अगाडि बढेका पिताम्वर तिम्सिनाले पनि साथ छाडेपछि उमेश कमजोर सावित भए । विगतमा नौ भोट पाएका उमेशले यो पटक १० भोट मात्रै पाए ।

प्रतिक्रिया दिनुहोस्