काठमाडौं । सात दलीय गठबन्धन बैठकमा विषय विज्ञलाई मन्त्री बनाउनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सोबारे छलफल भएको हो ।
बैठकमा सहभागी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री विषय विज्ञ हुनुपर्नेबारे छलफल जानकारी गराएका हुन् ।

बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘अब क्षमताका आधारमा दलहरूले सरकारमा मन्त्री पठाउनेबारे छलफल भएको छ ।’ तर, निर्णय भने भइनसकेको उनले बताए । ‘मन्त्रिपरिषद विस्तारबारे छलफल भएको छ’ उनले भने, ‘विषयविज्ञ मन्त्री भएमा राम्रो हुन्छ । त्यसबारे समझदारीको प्रयास गरिरहेका छौँ ।’
उनले मन्त्रीपरिषद् विस्तार गर्नेबारे व्यापक छलफल भइरहेकाले पनि बताए । ‘विश्वासको मत अगाडि हुन्छ वा पछाडि भन्नेबारे छलफल भएको छैन’ उनले भने, ‘त्यसैले यसबारे टुंगो भएको छैन ।’ प्रधानमन्त्री प्रचण्डले यही पुस २५ गते विश्वासको मत लिने भएका छन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक सत्ता साझेदार दलको बैठक बसेको हो ।
वर्तमान गठबन्धन सरकारमा नेकपा माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।














