Logo
Logo

बुटवलमा अर्का डिएसपीको आतंक




बुटवल । इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी ठगबहादुर केसी आइतबार बेलुका प्रहरी हेडक्वार्टरको टोलीबाट समातिए । अवैध सुन र नगदसहित पक्राउ परेका उनलाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ ।

नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसी र सशस्त्र प्रहरीका डिएसपी सुरज पाण्डे


व्यापारीहरुलाई धम्काएर लाखौं असुलेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । निवर्तमान गृहमन्त्री बालकृण खाणको आडमा उनले यसरी खुलेआम असुली आतंक मच्चाएका थिए ।


खाण समूहकै आडमा बुटवलमा लामो समयदेखि अर्का एक डिएसपीले पनि आतंक मच्चाउँदै आएका छन् । उनी हुन् बुटवलस्थित सशस्त्र प्रहरीको फरवार्ड बेशमा डिएसपी सुरज पाण्डे । सामान्यतया सुरक्षा बेशमा ६/६ महिनामा कमान्डर परिवर्तन हुन्छ, तर पाण्डेको हकमा यो लागू भएको छैन । किनकी खाण निकट गिरोहले उनीसँग मिलेर रुपन्देहीमा तस्करीको सेटिङ मिलाएको छ । बालकृष्णका भाइ रामकृष्ण तथा स्थानीय व्यापारी मिलेर रुपन्देहीमा तस्करीको लाइन खुलाउँदै आएका छन् ।


पाण्डे इन्सपेक्टर हुंदा पनि त्यही बेशमा थिए भने डिएसपी भएको ९ महिना पुगिसक्दा समेत त्यही कार्यरत छन् । २ बर्ष देखि एकै ठाउँमा कमान्ड गरेर संगठनको नितिनियमलाई नै उनले चुनौती दिएका छन् । गृह मन्त्रालयबाट खाण हटेपछि एमाले र माओवादी नेतासँग सेटिङ मिलाउन डिएसपी पाण्डे लागिसकेका छन् । ‘उनको सम्पत्ति छानबिन गर्ने हो भने ठगबहादुर केसीको भन्दा धेरै भेटिन्छ’ एक प्रहरी भन्छन्,‘जिल्लाका एसपीभन्दा उनी यहाँ शक्तिशाली छन् ।’

उनी जस्तै सशस्त्रका अर्का डिएसपी कृष्ण अर्यालले असुली आतंक चलिरहेको । यसअघि डन्डा बिओपीमा हुँदा करोडौं कमाएका उनी हाल रुपन्देही गणमा छन् । आफु अनुकुलका इन्सपेक्टरमा डन्डामा खटाएर सेटिङ भने उनले नै चलाएको स्रोत बताउँछ । खाणको दबाबमा काज सरुवा गरेर अर्याल डन्डा गएका थिए । अहिले उनले नै घुमुवा खटाएर त्यहाँबाट तस्करी चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्