काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फेरि सरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच भएको बैठकले लिग फागुन १९ गतेबाट गर्ने सहमति भएको हो । लिग डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ ।

बैठकमा सबै ए डिभिजन क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैठकमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा र दावा लामा लगायतको सहभागिता रहेको थियो ।
पुस २६ गतेका लागि तय भएको ए डिभिजन लिग एन्फाले समयमा तयारी खर्च नदिएपछि क्लबहरुले निर्धारित मितिमा खेल्न नसक्ने बताएका थिए ।
तीन पटकसम्म एन्फाले मिति तोकेर तयारी खर्च दिन नसकेपछि गत महिना ९ क्लबले संयुक्त रुपमा तयारी खर्च दिएको ३ महिनापछि मात्र लिग खेल्ने ज्ञापन पत्र बुझाएका थिए । अघिल्लो साता पनि दुई पक्षबीच छलफल भएपनि निर्णय भने हुन सकेको थिएन ।














