
हेटौंडा । केन्द्रको फेरिएको सरकार समिकरणले प्रदेश सरकार गठनमा ठुलै परिवर्तन ल्याएको छ ।
गत आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएसँगै सातै प्रदेशको सरकार गठनको समिकरणमा फेरबदल आएको हो ।
बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि निर्णायक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुख्यमन्त्रीमा दाबी गरेको छ । सांसद संख्याको आधारमा सरकार गठनका लागि नयाँ गठबन्धनमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएको हो।
११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । बागमती प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद छन्। प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता बागमती प्रदेशमा देखिएको छ।
बागमती प्रदेशमा नयाँ सत्ता गठबन्धनको स्पष्ट बहुमत भएपनि राप्रपाको १३ सांसदसहित निर्णायक भुमिकामा देखिएपछि मुख्यमन्त्रीकाे दावी गरेकाे हाे। ४ वटा प्रदेशमा सरकार गठनको लागि निर्णायक शक्ती रहेकाले बागमती प्रदेशमा मुख्यमन्त्रीको दावी गरेको राप्रपा संसदीय दलका नेता उद्धव थापाले बताए । ‘हामि ४ वटा प्रदेशमा सरकार गठनको लागि निर्णायक शक्ती छौ। बागमती प्रदेशमा हाम्रो उपस्थिती बलियो भएकोले यहाँको नेतृत्व हामीले पाउनुपर्छ भन्ने हो’, उनले भने।
एमालेबाट मुख्यमन्त्रीमा संसदीय दलको नेतासमेत रहेका जगनाथ थपलिया दावेदार छन् । त्यस्तै माओवादीले अझैसम्म पनि संसदीय दलको नेता टुंग्याउन सकेको छैन। माओवादीले शुक्रबार दलको नेता चयन गर्दैछ । माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’,प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगा नारायण श्रेष्ठले दाबी गरिरहेका छन्। उनीहरू सबै मुख्यमन्त्रीको दावेदार हुन्।














